samajikkhabar.com

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारले २०७९ मा हुने आम निर्वाचन निष्पक्ष रुपमा नगराउन नसकने बताएका छन् ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले गरेको वागमती प्रदेशको भर्चुअल बैठकमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा सांसद थापाले सो कुरा भनेका हुन् । उनले भने–‘मलाई यो कम्युनिष्ट सरकारले स्वच्छ र निष्पक्ष निर्वाचन गराउँछ भन्नेमा विश्वास छैन । यो कम्बोडियामा सेनले गराएको निर्वाचन जस्तो हुन सक्छ । पहिले वामदेवले गराएको चुनाव सम्झिनुस्, त्यस्तै हुनसक्छ ।’

उनले सरकारलाई स्वच्छ र निष्पक्ष निर्वाचन गराउन बाध्य पार्नेगरी कांग्रेसले काम गर्नुपर्ने पनि बताएका छन् ।

‘तर हाम्रो पार्टीले र नेतृत्वले प्रतिपक्षीको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्न सकेको छैन । अब संवैधानिक निकायमा नियुक्तिको कुरा छ । त्यसमा पनि प्रतिपक्षी दलका नेताले चोचोमोचो मिलाएको सुनिन्छ । प्रतिपक्षीको काम अहिले त्यो होइन,’ उनले भने–‘जसरी सरकार चलाउनेलाई जनता र संविधानले जिम्मेवारी दिएको छ त्यसैगरी प्रतिपक्षीलाई पनि जिम्मेवारी दिएको छ । हामी त्यसबाट चुकिरहेको जनताले बताइरहेका छन् ।’

कोरोना महामानी नियन्त्रणमा सरकार असफल देखिएको बताउँदै उनले भने–‘भ्रष्टचारका काण्डहरुले जनता सरकारसँग निराश छन्, तर हामीसँग पनि खुशी छैनन् । हामीले जनताका आवाज उठाउनेगरी काम गर्न सकेका छैनौं ।’

samajikkhabar.com