samajikkhabar.com

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । यसअघि दुईपटक केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्दै तल्ला तहका अधिवेशनको मिति परिवर्तन गरेको कांग्रेसले सुरु कार्यतालिका नै प्रभावित भएपछि महाधिवेशनको पूर्वनिर्धारित मिति नै सार्ने तयारी गरेको हो ।

‘कोरोनाकै कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको अवस्था छ त्यसकारण महाधिवेशन पनि सर्ने अवस्था आयो । यही समयमै हुन्छ भन्ने तय त केन्द्रीय समितिले गर्छ तर सर्छ,’ सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले राजधानीसँग भने ।

उनले सभापतिलाई काम नै गर्न नदिने गरी केही नेताहरू अघि बढेकाले समेत समयमा महाधिवेशन हुने अवस्था टर्दै गएको जनाए । ‘सभापतिलाई केही काम नै गर्न नदिने, जे गरे पनि विरोध गर्ने, जिल्ला सभापतिहरूलाई सदस्यताको फाराम नै लैजान नदिने अनि महाधिवेशन भएन भनेर सभापतिलाई मात्रै दोष दिएर होला रु’ नेता विश्वकर्माले भने ।

कांग्रेसले हाल कायम रहेको करिब ५ लाख क्रियाशील सदस्यतालाई बढाएर १० लाख अर्थात् दोब्बर बनाउने नीति लिएको हो ।

कांग्रेसले पछिल्लोपटक २२ असारमा कोरोना संक्रमणको कारण देखाउँदै पार्टी संरचना समायोजनदेखि क्रियाशील सदस्यता वितरण र पार्टीका तल्ला तहका सबै संरचनाको अधिवेशनको मिति हेरफेर गरेको थियो ।

अन्तरिम संरचना समायोजन र क्रियाशील सदस्यता वितरणका लागि पछिल्लोपटक तोकेको म्याद सकिएर कार्यतालिका प्रभावित भएसँगै आगामी केन्द्रीय समितिबाट फेरि कार्यतालिका परिमार्जन गर्ने कांग्रेसको तयारी छ ।

तर, नेता कृष्णप्रसाद सिटौलाले भने केन्द्रीय समितिको म्याद आगामी फागुनमा नै सकिने हुँदा फेरि ६ महिनाको म्याद थप गर्दा पनि भदौमा नै थप म्यादसमेत सकिने भएकाले वैशाख वा जेठमै महाधिवेशन गर्न देउवालाई सुझाउँदै आइरहेका छन् ।

२०–२३ फागुन २०७२ मा सम्पन्न १३औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै पनि पछिल्लोपटक तोकिएको १० साउनसम्ममा सकिनुपर्ने कांग्रेसको अन्तरिम संरचना समायोजनको काम अझै सकिएको छैन । कांग्रेस पार्टी कार्यालयले ६५ जिल्लामा समायोजनको काम सकिएको दाबी गर्दै आएको छ । केही जिल्ला, वडा र केही स्थानीय तहमा समायोजन नसकिँदा समायोजनको काम अड्किएको छ ।

कांग्रेस केन्द्रले दाबी गरेकाबाहेक बाँकी १२ जिल्लामा समायोजनमा विवाद देखिँदै आएको छ । प्रदेश २ का आठ जिल्लामा सबैभन्दा धेरै विवाद छ । यस्तै काभ्रे, सिन्धुपाल्चोक र मुस्ताङमा समेत समायोजनमा विवाद देखिँदै आएको छ ।

यसैगरी, क्रियाशील सदस्यता वितरण र नवीकरणको मितिसमेत प्रभावित भएको छ । कांग्रेसले त्यसका लगि २५ असारदेखि साउन मसान्तसम्मको समय तोकेको थियो । कांग्रेसले भदौभित्र अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न सबै जिल्लालाई निर्देशन दिएको छ । सदस्यता वितरण नै नभएकाले यो मितिसमेत प्रभावित हुने निश्चित छ ।

भदौभित्र आएका क्रियाशील सदस्यका नाममा असोज मसान्तभित्र उजुरी गर्न र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन भनिएको छ । यसैगरी ६ पुसमा वडा अधिवेशन, ८ पुसमा ७ सय ५१ स्थानीय तहको अधिवेशन, ११ पुसमा प्रदेशसभा र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने निर्णय कांग्रेसले गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

यो पनि पढ्नुहोस:

कक्षा १२ को परीक्षा दशैँ अगावै

रेडक्रस पदाधिकारीका कर्तुतै कर्तुत

बंगलादेशसँग ५० हजार टन मल पैंचो लिइने

हतारमा अस्पताल सिल, विज्ञ भन्छन्- ‘अस्पताल सिल गर्ने ठाउँ होइन’

आजको राशिफल : २०७७ भदौ १६ गते मंगलबार

असोज १ गतेदेखि सार्वजनिक सवारी र आन्तरिक हवाइ उडान संचालन गर्ने सरकारको निर्णय

samajikkhabar.com