samajikkhabar.com

काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको मंगलबार एक वर्ष पुगेको छ। २०७५ फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा एकजनाको ज्यान जाने गरी बम विस्फोट गराएपछि सरकारले विप्लव समुहलाई फागुन २८ गते प्रतिबन्ध लगाएको थियो।

सरकारको प्रतिबन्धमा परेको एक वर्ष बित्दा विप्लवका करिब १५ सय नेता कार्यकर्ता पक्राउ परिसकेका छन्। पक्राउ परेकामध्ये केही शीर्ष नेताले पार्टी नै फेरिसकेका छन्। 

सरकारको धरपकडका बीच कमजोर बनेको भनिएको विप्लव समूहले राजधानी सहर काठमाडौंका जुनसुकै स्थानमा सजिलै बम पड्काउँदै आएको छ।

सेक्युरिटी प्रिन्टर खरिदका क्रममा ७० करोड रुपैयाँ कमिशन मागेको अडियो बाहिरिएसँगै पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरलाई विप्लव समूहे ‘तार्गेट’ गरेको थियो। तर फागुन ८ मा राजीनामा दिएदेखि नै सरकारले बाँस्कोटाको भक्तपुरस्थित मनोहरा फाँटमा निर्माणाधीन घरक्षेत्रमा प्रहरी नायव निरीक्षकको कमाण्डमा सुरक्षा तैनाथी गरेको थियो।

मंगलबार दिनभरी त्यसक्षेत्रमा रहेको प्रहरी बुधबार बिहान नदेखिएपछि त्यही मौकामा विप्लवका कार्यकर्ताले शक्तिशाली कुकर बम पड्एका हुन्। जसबाट बाँस्कोटाको निर्माणाधीन चार तले घरको भुइँ तलासहित अन्य दुई छिमेकीको घरमा पनि नराम्ररी क्षति पुगेको छ।

भ्रष्टाचार गरेकाले कारवाही

विप्लव यसैबीच बम विस्फोट गराएपछि प्रतिबन्धित विप्लव समूहले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदकाण्डमा ७० करोड घूसका लागि मोलमोलाई गरेर भ्रष्टाचार गरेको भन्दै कारबाही गरिएको दाबी गरेको छ।

विप्लव समूहले घटनास्थलमा ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन?’ शीर्षकको पर्चा छाडेको प्रहरीले जनाएको छ।

बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेको, २४ अर्बको स्याटेलाइट खरिद प्रकरणमा करोडौं भ्रष्टाचार गरेको, १९ अर्बको फोरजी सेवा विस्तारका क्रममा करोडौँ रकम दुरुपयोग गरेको, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ हिनामिना गरेको आरोप लगाएको छ।

त्यसैगरी मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवाका नाममा करोडौं हिनामिना गरेको, सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेको आरोप पनि विप्लव समूहले लगाएको छ। 

विप्लवले आफ्नो समूहमाथि प्रतिबन्ध लगाउने काममा पनि बाँस्कोटाको हात रहेको दाबी गरेको छ। देशलाई सङ्कटग्रस्त अवस्थामा पुर्‍याउनेमध्ये एक पात्र भएको दाबी पनि विप्लव समूहले गरेको छ। 

samajikkhabar.com