samajikkhabar.com

पूर्वमुख्यसचिव लीलामणि पौड्यालको कार्यसम्पादन सन्तोषजनक नभएको भनेर सरकारले चीनबाट १५ दिनभित्र फर्कन निर्देशन दिएको छ, तर देउवाकी सासू प्रतिभा राणाले जापानमा, ओलीकी साली अञ्जन शाक्यले इजरायलमा, यती समूहका सोनाम शेर्पाकी छोरी दावाफुटी शेर्पाले स्पेनमा र म्यानपावर व्यवसायी शर्मिला पराजुलीले ओमानमा गरेको काममा भने सरकारले प्रश्न गर्न उचित ठानेको छैन। 

  • लीलामणि पौड्याल, चीन : पूर्वमुख्यसचिव पौड्याल कात्तिक ०७३ मा चीनका लागि राजदूत नियुक्त भएका हुन्
  • प्रतिभा राणा, जापान : देउवाकी सासू राणा कांग्रेस र माओवादीको सरकारका पाला राजदूत नियुक्त भएकी हुन्
  • शर्मिला पराजुली, ओमान : म्यानपावर व्यवसायी पराजुली गच्छदारको पार्टीको कोटाबाट ०७३ मा राजदूत भएकी हुन्
  • दावाफुटी शेर्पा, स्पेन : यती समूहका ल्हाक्पा सोनाम शेर्पाकी छोरी दावालाई वर्तमान सरकारले राजदूत बनाएको हो 
  • अन्जन शाक्य, इजरायल : प्रधानमन्त्री ओलीकी साली अञ्जन शाक्यलाई यही सरकारले राजदूत बनाएको हो 
  • महेशराज दाहाल, अस्टेलिया : कांग्रेसका पाला एनटिभीमा महाप्रबन्धक भएका दाहाल नेकपा प्रवेश गरेपछि राजदूत भएका हुन्

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ । पूर्वमुख्यसचिवसमेत रहेका पौड्याललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषद्ले नेकपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूतका रूपमा चीन पठाउने निर्णय गरेको छ । 

पौड्यालको कार्यसम्पादन सन्तोषजनक नभएको भनेर तुरुन्त फर्काउने निर्णय गरेको सरकारले नेताका सासू, साली र व्यापारीका छोरीको काममा भने प्रश्न उठाएको छैन ।कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणा जापानमा राजदूत छिन् । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको कांग्रेस र तत्कालीन माओवादीको संयुक्त सरकारले राणालाई वैशाख ०७४ मा राजदूत बनाएको हो ।

जापानजस्तो नेपालको असल विकास साझेदार देशमा बुढेसकालमा आराम गर्न राणालाई पठाइएको हो । उनको कामको विषयमा परराष्ट्र मन्त्रालयका कुनै पनि अधिकारी सन्तुष्ट छैनन् । त्यतिवेला कांग्रेस सरकारमा रहेकाले उनको नियुक्त भयो । अहिले देउवा प्रतिपक्षी दलका नेता भएकाले सरकारले राणालाई फिर्ता बोलाउन सकेको छैन । 

कांग्रेस र माओवादीकै सरकारका पाला विजय गच्छदारको पार्टीको कोटाबाट शर्मिला पराजुली ढकालले राजदूत हुने अवसर पाएकी थिइन् । म्यानपावर व्यवसायी उनलाई ओमानका लागि राजदूत बनाइएको थियो । नेपाली कामदारका लागि ओमान पनि आकर्षक गन्तव्य हो । तर, कामदारको हकहित संरक्षण गर्ने होइन, म्यानपावर व्यवसाय प्रवद्र्धन गर्न दिने उद्देश्यले पराजुलीलाई राजदूत बनाइएको थियो । तत्कालीन सरकार मात्र होइन, वर्तमान सरकारको नेतृत्वसँग पनि उनले धेरै राम्रो सम्बन्ध बनाएकी छिन् । त्यसैले उनको पद पनि सुरक्षित छ । 

ओली सरकारका पाला राष्ट्रिय सम्पत्तिमा सबैभन्दा बढी दोहन गरेको यती समूहले कूटनीतिक क्षेत्रमा पनि परिवारका मान्छे पठाएको छ । यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाकी छोरी दावाफुटी शेर्पालाई सरकारले गत ९ भदौमा राजदूत बनाएको हो । स्पेनमा नेपालको कूटनीतिक प्रतिनिधित्व उनैले गर्छिन् ।अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओलीले साली नाता पर्ने अञ्जान  शाक्यलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक बनाएका थिए । यसपालि उनलाई राजदूत बनाएर इजरायल पठाएका छन् । 

सुशील कोइराला प्रधानमन्त्री हुँदासम्म कांग्रेसको राजनीति गरेका महेशराज दाहाललाई तत्कालीन सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धक बनाएको थियो । तर, गत निर्वाचनमा उनी चितवनमा वाम गठबन्धनको प्रचारमा हिँडे । एमाले र माओवादी मिलेपछि नेकपामा समाहित भएका दाहाल अहिले अस्ट्रेलियाका लागि राजदूत छन् । यस्ता कुनै पनि राजदूतको कार्यक्षमतामाथि सरकारलाई चासो छैन । तर, लीलामणि पौड्याललाई भने चीनबाट तत्काल फिर्ता बोलाइएको छ । 

उसो त सरकारले अमेरिकामा राजदूत नियुक्त गर्न नसकेर तत्कालीन राजदूत अर्जुन कार्कीलाई नै ‘अर्को व्यवस्था नहुन्जेलसम्म’ भनेर जिम्मेवारी दिएको छ । त्यस्तै तत्कालीन राजदूत डा. विश्वम्भर प्याकुर्‍यालले राजीनामा दिएपछि श्रीलंकाका लागि राजदूत नियुक्त गरिएको छैन । दक्षिण कोरिया र दक्षिण अफ्रिकामा पनि राजदूत पद खाली छ ।

-नयाँ पत्रीका बाट

samajikkhabar.com