samajikkhabar.com

काठमाडौं, । सत्तारुढ नेकपाले ‘एमसीसी’अन्तर्गतको अमेरिकी सहयोग परियोजना सम्झौता अध्ययन गर्न बनाएको अध्ययन कार्यदलको म्याद सकिएको छ ।माघ १९ गते सम्पन्न केन्द्रीय समितिको बैठकले कार्यदल बनाएर एमसीसी सम्झौता अध्ययन गर्न १० दिनको समय दिएको थियो ।तर, कार्यदलले निर्धारित समयमा प्रतिवेदन बुझाउन भने सकेन ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठन गरिएको एमसीसी अध्ययन कार्यदलले विवादित विषय पहिचाहन गर्न नसक्दा प्रतिवेदन बनाउन नसकेको हो । बुुधबार म्याद सकिएपछि कार्यदललाई समय थपिएको छ ।कार्यदलका सदस्य भीम रावलले सम्झौताको विषयमा अध्ययन भइरहेको र आचारसंहिताअनुसार सो विषयमा तत्काल धारणा सार्वजनिक गर्न नमिल्ने बताए ।यहीबीचमा एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपाल भ्रमण गरेपछि कार्यदल झन् अलमलमा परेको विश्लेषण भइरहेको छ ।

ब्रुक्सले कार्यदलका संयोजक खनाल तथा सदस्य भीम रावललाई सामूहिकरुपमा भेटेर छलफल गरेकाले पनि कार्यदलभित्रै समस्या उत्पन्न भएको अनुमान गरिएको छ ।यहीबीचमा काठमाडौंस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेकपाका केही नेताहरुसँग पनि भेटवार्ता गरेका छन् ।कार्यदलका सदस्य रावलले भने आफूहरु प्रभावित नभएको दाबी गरेका छन् ।कार्यदल गठन भएपछि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले एमसीसी संसदबाट पारित हुने आशयका धारणा सार्वजनिक गर्दै आउनु र अमेरिकी अधिकारीहरुको भेटघाटका कारण कार्यदल अप्ठेरोमा परेको बुझ्न भने कठीन छैन ।

samajikkhabar.com