samajikkhabar.com

काठमाडौं । माघ १२ गते आइतवार हुने सभामुख निर्वाचनका लागि आज दलहरुले उम्मेद्वारको मनोयन दर्ता गर्दैछन् ।बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । एक जना प्रस्तावक र समर्थक राखी प्रतिनिधिसभाका कुनै पनि सांसदले प्रस्ताव गर्न सक्ने व्यवस्था रहेको छ । उम्मेद्वारको सूची आज नै दिउँसो २ः३० बजे नै सार्वजनिक गरिनेछ ।

रिक्त भएको चार महिनापछि सभामुख निर्वाचन हुन लागेको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले स्थायी समिति सदस्य एंव सांसद अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।संसदमा नेकपाको सुविधाजनक बहुमत रहेकाले उनीनै सभामुख हुने लगभग निश्चित छ । अरु दलले उम्मेद्वारी नदिएमा उनी निर्विरोध निर्वाचित हुनेछन् ।प्रतिनिधिसभाको अर्को बैठक १२ गते दिउँसो ३ बजेका लागि बोलाइएको छ । उक्त बैठकले नै सभामुख चयन गर्नेछ ।

तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।यसअघि प्रतिधिनिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा हिजो बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले सभामुख चयनको लागि माघ १२ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएको थियो ।हिजो उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिएपछि बैठकको अध्यक्षता जेष्ठ सदस्य ठाकुरले गरेका थिए ।बैठकको शुरुमा अध्यक्ष ठाकुरले उपसभामुख तुम्बाहाम्फेले पदबाट दिएको राजीनामा पत्र पढेर सुनाएका थिए । 

samajikkhabar.com