samajikkhabar.com
Nepali-Congress

नेपाली कांग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उमेद्वार तय गरेको छ । वडा समितिले सर्वसम्मतरुपमा उमेद्वार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ ।

कांग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्नेत उमेद्वार बन्ने पक्का भएको छ । उनी सो वडाका कार्यवाहक अध्यक्षसमेत हुन् । यस्तै सोही नगरपालिका–५ को अध्यक्षमा प्रतिमा बस्नेत उमेद्वार बन्ने पक्का भएको छ । उमेद्वारका लागि सिफारिस बस्नेत स्वर्गीय वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् । यी दुवै नामलाई कांग्रेस वडा समितिले सर्वसम्मतरुपमा जिल्लामा सिफारिस गरेको छ ।यी दुवै वडामा कांग्रेसले विजय हासिल गरेको थियो । केही वर्षअघि रत्ननगरबाट खैरहनीतर्फ फर्किने क्रममा रत्ननगरको शान्तिचोकमा भएको दुर्घटनामा परी वडा नं ४ का तत्कालीन अध्यक्ष नरेन्द्र अधिकारी र ५ का अध्यक्ष विश्वविजय बस्नेतको निधन भएको थियो ।

यस्तै कांग्रेसले भरतपुर महानगरपालिका–१६ को वडाध्यक्षका लागि पनि उमेद्वार तय गरेको छ । कांग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको छ । केही महीनाअघि सो वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । स्वर्गीय गुरुङ तत्कालीन नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले कांग्रेसका उमेद्वार अमृत हमाललाई पराजित गरेका थिए । अहिले कांग्रेसले पुनः हमाललाई नै उमेद्वारका लागि सिफारिस गरेको हो ।

नेपाली कांग्रेस चितवनले उपनिर्वाचनका लागि तीनवटै वडा समितिले सर्वसम्मतरूपमा उमेद्वारको नाम सिफारिस गरेकोले सोही नामहरु अनुमोदन हुने बताएको छ । साथै “वडाबाटै सर्वसम्मत नाम आएपछि विवादको विषय नै नरहने, सिफारिस व्यक्तिलाई नै काङ्ग्रेसले उमेद्वार बनाउँछ ।” काङ्ग्रेसले निर्वाचन आयोगको निर्वाचन तालिकाअनुसार नै कांग्रेसले उमेद्वारको नामावली औपचारिकरूपमा घोषणा गरिने बताएको छ ।

samajikkhabar.com