samajikkhabar.com

परासी : बँदेल मार्न थापिएको करेन्टको पासोमा परी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एक जनाको ज्यान गएकाे छ । घर नजिकैको जङ्गलबाट आउने बँदेलले धानबाली नष्ट गरेको भन्दै बँदेल मार्न थापेको पासोमा परि रामग्राम नगरपालिका १४ पर्सावलका ५५ वर्षीय होमनारायण यादवको ज्यान गएकाे हो ।

शुक्रबार राति घरबाट निस्केका श्रीमान् हराएको भनी यादवकी श्रीमती सोनियाले खोजीका लागि प्रहरीमा निवेदन दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो । खोजी गर्दा यादवसँगै अन्य चार जना मिलेर पासो थापेको र उनको ज्यान गएपछि चारै जना फरार भएको पत्ता लागेपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु लामाले जानकारी दिनुभयो ।

फरारमध्ये दुई जनालाई प्रहरीले गएराति रुपन्देहीबाट नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका त्यही गाउँका बाबुराम चौधरी र मोहन चौधरीले यादवको पासोमा परि ज्यान गएपछि घटनास्थलभन्दा केही पर कुलामा खाल्डो खनेर शव पुरेको बयान दिएका थिए ।

प्रहरीका अनुसार शुक्रबार राति उनीहरु पाँचै जनाले पासो थापेर घर गएको र बँदेल परेपछि खबर गर्ने जिम्मा यादवकै थियो । अबेरसम्म पनि यादवले जानकारी नदिएपछि पासो थापेको ठाउँमा आफूहरु पुग्दा यादव मृत भेटिएपछि खाल्डो खनेर शव पुरिएको पक्राउ परेकाहरुले बताएको डीएसपी लामाले बताउनुभयो ।  

samajikkhabar.com