samajikkhabar.com

काठमाडौं : नेपाल प्रहरीका २१ सय बढीमा कोभिड-१९ देखिएको छ। गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकोमा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रहरीका दुई हजार १६१ सङ्क्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले जानकारी दिए।

काठमाडौँ उपत्यकाको तीन जिल्लामा सबैभन्दा बढी ६२४ जना सङक्रमित भएका छन्। त्यसमध्य ५५८ जना अझै उपचाररत छन्। प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ जना सङ्क्रमित रहेको जनाइएको छ। त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएका र ७१ को उपचार जारी छ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार प्रदेश १ मा ३४०, प्रदेश २ मा २५७, बाग्मती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदुरपश्चिम प्रदेशमा ३९ जनामा सङ्क्रमण देखिएको छ।

प्रहरी प्रवक्ता कडायतले सङ्क्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेको बताए। उनका अनुसार अहिले सबै उच्च मनोबलका साथ उपचार गराइरहेका छन्। सबैको अवस्था सामान्य रहेको कडायतको भनाइ छ। सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कबोभिड-१९ सङ्क्रमण बढिरहेको छ।

samajikkhabar.com