samajikkhabar.com

काठमाडौं : बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयले यही अंग्रेजी वर्ष २०२० को अन्त्य अर्थात आगामी पुस मध्यसम्म कोरोनाभाइरस संक्रमणका कारण ४९ हजार २ सय जनाको मृत्यु हुने प्रक्षेपण गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गएको मे महिनामा नेपालमा देखिएका नयाँ केस, आयातीय केस र समुदायस्तरको संक्रमण, नेपालमा लकडाउनको अवस्था, त्यतिबेलाको संक्रमण वृद्धिदर तथा मृत्युदरका आधारमा तथ्यांकको विश्लेषण गरेर यस्तो निष्कर्ष निकालेको हो । अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट बेलायत सरकारको डिपार्टमेन्ट अफ फरेन डेभलपमेन्ट (डिएफआइडी) अन्तगर्तको विभाग हो ।

बेलायत सरकारको आधिकारिक वेबसाइट जीओभी डट युकेमा प्रकाशित शोधपत्रमा शोधकताृहरु प्रोफेसर लिसा ह्वाइट, डा. निकोलस लेक्फोर्ड, डा. सुनिल पोखरेल, डा. दिप्ती लता तथा डा. राशिद जमानले नेपालमा संक्रमणको वृद्धिदर र यो वर्षको अन्तिमसम्म हुने अवस्थालाई तीन फरक–फरक सुरक्षात्मक उपायको आधारमा वर्गीकरण गरेका छन् । यो अध्ययन गर्दाका समयमा नेपालमा लागू गरिएको लकडाउनको प्रतिबन्ध ८ देखि १० हप्तामा हटाइने, ८ देखि १० हप्ता पूरा भएपछि थप २६ दिनसम्म लम्ब्याइने र २६ हप्तासम्म प्रतिबन्ध लगाइएपछि पनि थप कडाइका नियमहरु लागू गरिने आधारमा तीन किसिमका नतिजाको प्रक्षेपण गरिएको छ ।

अध्ययनमा ‘न्यून अवरोध रणनीति’, ‘मध्यम अवरोध रणनीति’ र ‘उच्च अवरोध रणनीति’ गरी सुरक्षात्मक उपायका तीन मापदण्डका आधारमा सम्भावित संक्रमण प्रसार र प्रभावको अध्ययन गरिएको छ । न्यून अवरोध रणनीतिमा लकडाउन लागू गरिएको ८ देखि १० हप्तापछि सबै कुरा सामान्य अवस्थामा फर्काइँदा कस्तो असर पर्छ भन्ने अध्ययन गरिएको छ । यसो गर्दा २०२० को अन्त्यसम्म कूल जनसंख्याको ८१ प्रतिशत भाइरसबाट संक्रमित हुने र ४९ हजार २ सयको मृत्यु हुने प्रक्षेपण गरिएको छ । यद्यपि शोधपत्र लेख्ने समयमा यो समयअवधि तोकिएको भए पनि नेपाल सरकारले थप २ हप्ता पूर्ण कडाइ गरेको थियो ।

मध्यम अवरोध रणनीतिमा सुरुमा प्रतिबन्ध लगाइएको अवधि समाप्त भएपछि थप २६ हप्तासम्म स्कुलहरु पूर्ण रुपमा बन्द गर्ने र हात नियमित धुनुका साथै बाहिरबाट आउने केसलाई थप २६ हप्तासम्म सीमित गर्ने (सीमा र अन्तर्राष्ट्रिय उडानमा कडाइ गर्ने) गरी सुरक्षात्मक उपाय अपनाउनु पर्नेछ । यद्यपि यो सुरक्षाको उपायमा लक्षण देखिएकालाई सेल्फ आइसोलेसनमा राख्ने र त्यही घरमा बस्ने अरुलाई होम क्वारेन्टाइनमा राख्ने तथा सामाजिक दूरीको कडाइका साथ पालना हुने शर्तमा छुट दिने मापदण्ड तय तरी नतिजाको प्रक्षेपण गरिएको छ । उच्च अवरोध रणनीतिमा लक्षण देखिएकालाई सेल्फ आइसोलेसनमा राख्ने र त्यही घरमा बस्ने अरुलाई होम क्वारेन्टाइनमा राख्ने शर्त पनि थप गरिएको छ ।

तथ्यांकको विश्लेषणका आधारमा शोधकर्ताहरुले न्यून अवरोध रणनीतिअनुसार २०२० को अन्त्यसम्म कूल जनसंख्याको ८१ प्रतिशत संक्रमित हुने, ४९ हजार २ सयको मृत्यु हुने प्रक्षेपण गरेका छन् । यसअनुसार २०२० को जुलाइको सुरुदेखि सेप्टेम्बरको सुरुसम्म संक्रमणको ‘पीक समय’ हुने र यतिबेला दैनिक ८ लाख ८६ हजार नयाँ केस थपिने तर राष्ट्रिय स्वास्थ्य प्रणालीमा यसको १० प्रतिशतभन्दा कम अर्थाथ ७५ हजार केस मात्र दर्ता हुने प्रक्षेपण गरिएको छ ।

मध्यम अवरोध रणनीति अपनाइएको अवस्थामा २०२० को अन्त्यसम्म कूल जनसंख्याको ७३.१ प्रतिशत कोरोनाभाइरसबाट संक्रमित हुने र ४४ हजार २ सयको मृत्यु हुने प्रक्षेपण गरिएको छ । यो रणनीति अपनाइएको अवस्थामा भाइरस संक्रमणको पीक समय मध्य जुलाइदेखि अक्टोबरको सुरुवातसम्म हुनेछ । यो समयमा दैनिक संक्रमणको केस ५ लाख ४८ हजारसम्म पुग्नेछ जसको १० प्रतिशत अर्थात ५० हजार दैनिक केस मात्र देशको राष्ट्रिय स्वास्थ्य प्रणालीमा दर्ता हुनेछ । यो रणनीति अपनाउँदा न्यून अवरोध रणनीति भन्दा दैनिक संक्रमण दर १८ प्रतिशतले घट्नेछ भने देशको स्वास्थ्य प्रणालीमा दर्ता हुने नयाँ केस दैनिक २५ हजारले घट्नेछ । यो रणनीतिले मृत्युदर ५ हजारले घटाउनेछ ।

उच्च अवरोध रणनीति अपनाएको अवस्थामा ६४.८ प्रतिशत जनता संक्रमित हुने र ३२ हजार ९ सयको मृत्यु हुने प्रक्षेपण गरिएको छ । यो रणनीति अपनाइएको अवस्थामा भाइरस संक्रमणको पीक समय मध्य जूनदेखि अक्टोबरको अन्त्यसम्म हुनेछ । यो समयमा दैनिक संक्रमणको केस ५ लाख ३१ हजारसम्म पुग्नेछ जसको १० प्रतिशत अर्थात ४६ हजार ८ सय दैनिक केस मात्र देशको राष्ट्रिय स्वास्थ्य प्रणालीमा दर्ता हुनेछ ।

यो पनि पढ्नुहोस:

रक्षामन्त्री पोरखेल र गृहमन्त्री थापा होम आइशोलेशनमा

अरबपती विनोद चौधरीलाई कोरोना संक्रमण

खोप परीक्षणको अन्तिम चरणमा नेपाल

अख्तियारले ‘क्लिन चिट’ दिन लागेका गोकुल बाँस्कोटा फेरी मन्त्री बन्दै

सेनामार्फत सञ्चालित पाँच आयोजनाको वार्षिक कार्य प्रगति ८० प्रतिशत

आज फेरी घट्यो सुनको मूल्य

samajikkhabar.com