samajikkhabar.com

रुपन्देहीमा आइतबार राति (आज) सम्म जारी रहेको निषेधाज्ञा भदौ १४ गतेसम्म थपिने भएको छ ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले निधेषाज्ञा १४ गतेसम्म बढाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सीसीएमसीको वैठकले निषेधाज्ञा भदौ १४ गतेसम्म थप गर्न सिफारिस गरेको र साँझसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गर्ने बताए ।

यसअघि सिद्धार्थनगर नगरपालिकाले पनि भदौ १४ गतेसम्म निषेधाज्ञा लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो । रुपन्देहीमा शुक्रबार रातिसम्मको तथ्यांक अनुसार कोरोना ंक्रमितको संख्या ६ सय १५ पुगेको छ ।

त्यसैगरी कपिलवस्तुमा जारी निषेधाज्ञा ८ दिन थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार बसेको बैठकबाट कोरोनाको जोखिम कायमै रहेकाले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

यसअघि जारी गरिएको निषेधाज्ञा भदौ ७ सम्म थियो ।

बैठकले अत्यावश्यक बाहेकका सबै प्रकारका व्यवसाय सञ्चालन गर्न नदिने निर्णय गरेको छ । अति आवश्यकीय वस्तु ढुवानी, एम्बुलेन्स, शवबवहन र राजमार्ग भएर गुड्ने सवारी साधन (जिल्लाभित्र चढ्न ओर्लन नपाउने गरी) बाहेक सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरिएको पौडेलले बताए ।

बैङ्क तथा वित्तीय संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक (कार्यालय दिन) विहान ८ बजेदेखि विहान १० वजेसम्म न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न सकिने छन् ।

उद्योग धन्दा, कलकारखानाको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्युनतम स्वास्थ्य मापदण्ड अपनाइ सञ्चालन गर्न पाउने छन् ।

अत्यावश्यकबाहेक सरकारी कार्यालयहरुबाट प्रदान गर्ने सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८ बजेदेखि १० बजेसम्मको समय छुट्याइएको छ ।

samajikkhabar.com