samajikkhabar.com

काठमाडौं : पार्टी भित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डलाई आफ्नो सुुझाव बुुझाएको छ ।

स्रोतका अनुसार कार्यदलले केही बुँदा छोडेर अधिकांस यस अघि उपाध्यक्ष बामदेव गौतमले पेश गरेका छ सुत्र वरिपरि रहेर सुुझाव तयार गरेको स्रोतले बतायो। कर्यदलले मन्त्रिपरिषद्मा हेरफेर, प्रदेशका मन्त्री तथा मुख्यमन्त्रीको परिवर्तन, सचिवालयको निर्णय अनुसार राजनीतिक नियुक्ति लगायतका बिषयमा जोड दिएको स्रोतले दावी गर्यो।

पार्टीभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले महासचिव विष्णु पौडेलेको संयोकत्वमा शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भूसाल, र जनार्दन शर्मा रहेको कार्यदल गठन गरेका थिए। सो कार्यदललाई सचिवालय बैठकले अनुमोदन गरेको थियो।

कार्यदलले धेरै बुँदामा भने गौतमको सुत्र अनुसार सुझाव तयार गरेको छ। साउन अन्तिम साता बसेको सचिवालय बैठकमा गौतमले प्रतिनिधि सभाको बाँकी कार्यकाल भरी केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि कायम रहन,प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहन दिनुपर्ने समेत प्रस्ताव गरेका थिए। ।

उपाध्यक्ष गौतमले पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, बैठकहरु पार्टी कार्यालयमा संचालन गर्ने प्रस्ताव पनि गरेका थिए । उनले प्रधानमन्त्रीका दिनदिनैका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्नुपर्ने सुझाव पेश गरेका थिए ।

यसैगरी, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने उल्लेख गरेका थिए। उपाध्यक्ष गौतमले मन्त्रीपरिषद् पुनर्गठन गर्नुपर्ने प्रस्ताव समेत बैठकमा पेश गरेका थिए।

‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रीपरिषद् पुनर्गठन तथा राजनीतिक तथा सम्वैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेत प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिनुपर्ने’ पनि प्रस्ताव गरेका थिए।

महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलले गौतमले उल्लेख गरेका सबै बुँदालाई समेटेको एक सदस्यले बताए । त्यसकै आधारमा संघीय सरकारको मन्त्रिपरिषदका साथै प्रदेश सरकार समेत पुनर्गठन हुने प्रचण्डले खुलासा गरेका छन् ।

एक अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद र प्रदेश सरकार पुनर्गठनका साथै ठूला राजनीतिक नियुक्ति, एकताको महाधिवेशन लगायतका बिषय स्थायी कमिटी बैठकको एजेण्डा भएको बताएका छन् । प्रधानमन्त्री ओलीसंग समेत यस बिषयमा छलफल भएको उनको भनाइ रहेको छ ।

‘क्याबिनेट पुनर्गठन र प्रदेश सरकारमा थपघटका विषयबारेको कुराकानी प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाजी, म र प्रधानमन्त्रीको छोटो बैठकमा पनि भएको थियो संवैधानिक नियुक्तिका विषयलाई लिएर’ प्रचण्डले भनेका छन् ।

बालुवाटार स्रोतले समेत मन्त्रीपरिषद र केही प्रदेश सरकार पुनर्गठन हुने पुष्टि गरेको छ । नेकपा अध्यक्षद्वय ओली र दाहालको सहमतिमै गठन भएको कार्यदलले समेत संघीय सरकार र प्रदेश सरकार पुनर्गठनबारेमा सुझाव दिने र सोही सुझावका आधारमा अगाडि बढ्ने गरी गृहकार्य भइरहेको स्रोतको दावी छ ।

‘संघीय र प्रदेश सरकार पुनर्गठन हुन्छ, अध्यक्षद्वयका बीचमा गृहकार्य जारी नै छ’ नेकपा स्रोतले भन्यो, ‘पार्टी विवाद समाधानका लागि गठन भएको कार्यदलले समेत पुनर्गठनको बारेमा दिने सुझावका आधारमा हुनेछ ।’

कार्यदलमा सदस्य रहेका भिम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्पा भुषाल सहित दर्जन सांसद मन्त्रीका दावेदारका रुपमा रहेका छन् । महासचिव पौडेल समेत अर्थमन्त्री बन्ने चाहना राखेको तर प्रधानमन्त्री ओलीले उनलाई पार्टी काममै समय दिन भनेका छन् ।

प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका कार्यदल सदस्य शंकर पोखरेल मुख्यमन्त्रीबाट राजिनामा दिएर संघीय सरकारको मन्त्री हुने सम्भावना बढी रहेको स्रोतको दावी छ ।

यसैगरी नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, देवेन्द्र पौडेल, रघुजी पन्त, हरिवोल गजुरेल, कल्याणी खडका, महेश बस्नेत सहित दर्जनभन्दा बढी नेताहरु मन्त्री हुने चर्चा नेकपाभित्र चलिरहेको छ ।

दुई वर्ष पुरा भइसकेका उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली मन्त्री रहिरहने सम्भावना बढी छ । यी बाहेका अधिकांश मन्त्री हेरफेरमा पर्न सक्ने स्रोतको दावी छ । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदसँगै आफ्नो सल्लाहकार समुहमा समेत केही हेरफेर गर्ने सम्भावना रहेको स्रोतको दावी छ ।

यस्तै प्रदेश १, वागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश सरकारमा समेत हेरफेर हुनेछ । केही मुख्यमन्त्री सहित बढी संख्यामा प्रदेश मन्त्रीहरु हटाउँने र नयाँलाई अवसर दिने गरी तयारी शिर्ष नेताहरुका बीचमा भईरहेको छ ।

samajikkhabar.com