samajikkhabar.com

काठमाडौं : नर्भिक र त्रिवि शिक्षण अस्पतालमा नोभल कोरोना भाइरसका बिरामी भेटिएको भन्दै भ्रामक अडियो बनाउने युवकलाई प्रहरीले खोज्न थालेको छ।

नर्भिकमा भर्ना भएका ९ मध्ये ६ जनालाई कोरोना भएको तथा शिक्षणमा चारजनाको मृत्यु नै भएको आशयको अडियो शनिबार बिहानैदेखि फेसबुक म्यासेन्जरमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी शैलेश थापाले अडियोमा भनिएका कुरा ‘अफवाह’ मात्रै भएको बताए।

‘अडियोमा भनेका कुराहरु अफवाह मात्रै हुन्’, उनले भने, ‘त्यसमा कुनै सत्यता छैन। कोरोनाका बिरामीको उपचार अहिलेसम्म शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै भइरहेको छ।’

आफ्नोसमेत नाम जोडेर अडियो भाइरल बनाइएपछि थापाथलीस्थित नर्भिक अस्पतालले पनि शनिबारै विज्ञप्ति जारी गर्दैछ। 

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले उक्त अडियो पूरै अफवाह मात्रै भएको बताउँदै अहिलेसम्म शिक्षणमा कोरोना आशंकित कुनै बिरामी भर्ना नै नभएको जानकारी दिए। 

samajikkhabar.com