samajikkhabar.com

एजेन्सी : नयाँ कोरोना भाइरस अझै तीव्र रुपले विश्वव्यापी रुपमा फैलिरहँदा यसबारे कतिपय भ्रामक र गलत जानकारीहरुले पनि गम्भीर रुप लिइरहेको पाइएको छ । यसरी कोरोनाबारे यति धेरै बनावटी कुराहरु अनलाइनमा फैलिए कि, विश्व स्वास्थ्य संगठन, (डब्लुएचओ)ले यसलाई ‘इन्फोडेमिक’ को नाम नै दिइसकेको छ भने सबैलाई यसबारे सचेत गराउन टिकटकबाट समेत प्रचार गरिरहेको छ । सामाजिक संजालबाट सबैभन्दा पहिले भाइरल हुने यस्ता भ्रामक जानकारीहरु विरुद्ध कतिपय देशका सरकारले सेन्सरको प्रयोग गर्न थालिसकेका छन् । 

केही समय अगाडि मात्र कोरोना अर्थात् कोभिड–१९ मान्छेले उत्पति गरेको रोग भन्ने व्यापक चर्चा भएको थियो । यसमा विश्वव्यापी स्वास्थ्य संकटको रुप लिइसकेको कोरोना प्रकोपमा सो भाइरस जीवजन्तुबाट नआएर ल्याबमा निर्माण गरिएको भन्ने गलत सूचना सेयर भइरहेको छ । जुन वास्तवमा हल्ला मात्र हो । त्यसैले इन्टरनेटमा देखिने सबै कुरामा विश्वास गर्न नहुने विज्ञहरुको सुझाव छ ।

यसरी पर्याप्त प्रमाण र विस्तृत जानकारी बिना नै मानिसहरुले यस्ता कुराको प्रचार गरिरहेका छन् । यस्तोमा चीन र पश्चिम, दुवैतर्फका वैज्ञानिकहरुले त्यस्ता गलत भनाइहरु गलत ठहर गर्दै यिनलाई बन्द गराउन भनिरहेका छन् । स्वास्थ्यविद्हरुले यसको उत्पतिको मुख्य स्रोतबारे अझै खोजी गरिरहेकका छन् । 

पछिल्लो समय सामाजिक संजालमा फैलिएको अर्को भ्रामक जानकारी भनेको घरेलु उपायमार्फत भाइरसबाट बच्न सकिन्छ भन्ने किसिमको रहेको छ । जस्तै यसमा अदुवा, पानी, भिटामिन सी र कागतीलगायत सेवन गर्नुले भाइरसबाट जोगिन सक्ने भनिएको छ । 

नेपालमा पनि त्यसको असर परेको छ । धनगढी उपहानगरपालिकाले जारी गरेको अपिलमा ‘हल्दी, बोझो र लसुनको सेवनले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न सकिने भएकाले परिवारका सदस्यलाई सुझाव दिनुहुन’ भनिएको छ ।

दुईदिन अघि जारी गरेको अपिलमा यस्तो उल्लेख गरिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

यी कुराहरु हाम्रो शरीरका लागि आवश्यक हुन् तर अदुवा खानु, प्रत्येक १५ मिनेटमा पानी पिउने गर्नु वा भिटमिन सी अनि कागती सेवन गर्नुले नयाँ कोरोना भाइरसबाट हामीलाई सुरक्षित राख्नेछ भन्ने कतै कुनै प्रमाण भएको छैन । 

त्यस्तै एसेन्सियल ओएल, सिल्भर र स्टेरोइडबारे पनि यस्तै गलत जानकारी फैलाइएको छ जुन सहि नभएको सीएनएनमा प्रकाशित एक समाचारमा उल्लेख छ ।

कतिपय पोस्टहरुमा हामीले आफ्नो शरीरमा तीलको तेल लगाएमा वा आफूलाई अल्कोहल वा क्लोरिनले छर्किए भाइरस मर्न सक्ने भनिएको छ जुन शतप्रतिशत गलत भएको विज्ञहरुको भनाइ छ । 

यसमा ब्लिच, इथानोल, क्लोरोफमलगायत केही रसायनहरुले सतहमा रहेका भाइरसलाई नष्ट गर्न सक्छन् तर हाम्रो शरीरमा पुगिसकेको किटाणुलाई नाक भित्र, छालामा वा शरीरमा जहाँसुकै जुन पदार्थ लगाए पनि मार्न सकिँदैन । 

त्यस्तै कुनै पनि केमिकल निल्न नहुने पनि चिकित्सकहरुले चेतावनी दिएका हुन् । कोरोनाको आधिकारिक खोप उपलब्ध हुन अझै १ वर्ष लाग्न सक्ने र वैज्ञानिकहरुले निरन्तर यसमाथि अध्ययन गरिरहेको हुँदा अहिलेका लागि यसबाट बच्ने सबैभन्दा राम्रो उपाय हात धोइरहनु, खोक्दा वा हाँक्ष्यु गर्दा टिस्युले वा कुइनोले मुख छोप्नु रहेको छ । 

त्यसैगरी अर्को सबैभन्दा ठूलो मिथ्या भनेको, सबैसँग मास्क हुनैपर्छ भन्ने हो । यसमा स्वस्थ मानिसहरुले हरेक क्षण मास्क लगाइरहन जरुरी नभएको बारम्बार सचेत गराइएको छ । 

राम्ररी नलगाउँदा उल्टो त्यही मास्कले संक्रमणको खतरा बढाइदिन सक्ने समेत चिकित्सकहरुको चेतावनी छ । यसरी बिरामीबाहेक स्वास्थ्यकर्मीहरुका लागि मात्र मास्क अति आवश्यक रहेको विज्ञहरुले बताइएका हुन् ।

र, स्वस्थ हुँदाहुँदै पनि धेरै मास्क किनेर थुपार्नुले बेकारमा त्यसको अभाव मात्र गराउने र पूरै समुदायलाई जोखिममा पार्न सक्ने बताइएको छ । 

यता तातोले भाइरसलाई मार्न सक्छ भन्ने मान्यता पनि अर्को भ्रम भएको विश्व स्वास्थ्य संगठनले बताएको हो । 

त्यस्तै डब्लुएचओले हाम्रो हातलगायत शरीरका अन्य भाग किटाणु रहित पार्न ‘युभी ल्याम्प’ को प्रयोग नगर्न पनि सुझाव दिएको छ । 

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत तातोले भाइरस मार्छ भनेका थिए जुन अत्यन्तै गलत भनाइ रहेको बताइएको छ ।  

यसैगरी कोरोना भाइरस बालबालिकालाई हुँदैन र केबल वृद्धहरुलाई मात्र साह्रो पार्छ भन्ने मिथ्या पनि व्याप्त रहेको छ । 

हो पहिले नै गम्भीर रोग लागेकाहरु संक्रमणप्रति संवेदनशील छन् तर यसको अर्थ अरुलाई कहिल्यै असर गर्दैन भन्ने चाहिँ होइन । यता कोरोना भाइरस लागेकाहरुको निश्चित मृत्यु हुनेछ भन्ने मान्यता पनि गलत हो । 

हालसम्म भाइरसबाट मृत्यु हुने दर २ प्रतिशत रहेको छ र सो तथ्याङ्क घट्दै जाने अपेक्षा गरिएको छ । 

कोरोना संक्रमण हुँदा स्वासप्रस्वासमा सामान्य समस्या, रुगा, खोकी, घाँटी दुख्ने, टाउको दुख्ने र ज्वरो आउने हुन्छ र प्रायः अवस्थामा यी लक्षणहरु आफैँ बिस्तारै हराएर जान्छन् । 

यसले गम्भीर रुप लिनु भनेको दुर्लभ अवस्थामा मात्र रहेको बताइएको छ । यसबाट संक्रमित हुनेको सङ्ख्या ९५ हजार पार गरिसकेको छ जसमा मृत्यु दर भने २ प्रतिशत भएपनि चिन्ताजनक मानिएको छ ।

samajikkhabar.com