काठमाण्डाै : रङ्गहरुको उत्सव होली अर्थात् फागु पर्व औपचारिक रुपमा सुरु भएको छ ।
काठमाण्डाैकाे वसन्तपुरमा लिङ्गो ठड्याएसँगै यस वर्षको होली पर्व सुरु भएको हो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलनअनुसार मङ्गलबार बिहान लिङ्गो ठड्याइएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार मङ्गलबार बिहान ७ बजेर ५७ मिनेटमा चीर ठड्याइएको हो । हनुमानढोका दरबारको मूलद्वार अगाडि रङ्गीचङ्गी कपडाले सिङ्गारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।
रङ्गिन ध्वजासहितको चीर ठड्याउने बेला नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो । यो वर्षको होली पहाडमा आउँदो सोमबार र तराईमा मङ्गलबार परेको छ ।
कोरोना भाइरसको जोखिम बढेकाे भन्दै होलीमा रमाइलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् ।
पानीमा भिज्दा तथा भिडभाडमा रङ्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ ।