samajikkhabar.com

तनहुँ : मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ।

सरकारले पुस्तकमा लगाएको कर, इन्धनमा गरिएको मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध तनहुँको भिमाद नगरपालिकास्थित नेविसंघ जनज्योति क्याम्पस इकाईले आइतबार विरोध र्‍याली निकालेको छ।

जनज्योति क्याम्पसबाट शुरु भएको उक्त र्‍याली क्याम्पस रोड, बसपार्क, लखनचोक, रत्नचोक हुँदै कुमार चोकमा पुगी कोणसभामा परिणत भएको थियो।

र्‍यालीमा सहभागी विद्यार्थीहरूले ‘पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता गर, न्यायको अधिकार सुनिश्चित गर, इन्धनको मूल्य बढाउन पाइँदैन, केक काट्न पाइन्छ देश काट्न पाइँदैन, निर्मलाको हत्यारालाई सार्वजनिक गर, बहिरो सरकार मूर्दावाद, भ्रष्टाचारीलाई कारबाही गर, सरकारी हस्तक्षेप बन्द गर’ लगायतका नारा लगाउँदै भिमाद बजार परिक्रमा गरेका थिए।

कोणसभालाई सम्बोधन गर्दै नेविसंघ तनहुँका अध्यक्ष चूडामणि खनालले शिक्षाको मूलधार पुस्तकमै कर लगाउँदा विद्यार्थीहरूको पढाइ लेखाइमा प्रत्यक्ष असर पर्ने भएकाले यस्तो प्रावधान हटाउनुपर्ने बताए।

शिक्षामा कर लगाएर देशको विकास नहुने उनको भनाइ छ।

‘कर बढाएर देश बन्दैन, देशको चौतर्फी विकासको लागि सुशासन र गुणस्तरीय शिक्षाको आवश्यकता छ,’ उनले भने।

वर्तमान सरकारले दोषीलाई कारबाही गर्नुको सट्टा लुकाएर मिलाउने गर्दा गलत कार्यहरु मौलाउँदै गएको उनले आरोप लगाए।

नेपाली कांग्रेस भिमादका सभापति आनन्ददेव श्रेष्ठले भारत सरकारले नेपालीभूमि भारतको नक्सामा समावेश गर्दासमेत आवाज उठाउन नसकेको बताए।

स्वतन्त्र विद्यार्थी युनियन जन्ज्योति क्याम्पसका सभापति सुनिल श्रेष्ठ, तरुण नेता अरविन्द श्रेष्ठ, नेविसंघ जनज्योति क्याम्पसका सभापति विनोद पराजुली लगायतले नेपाल विद्यार्थी संघले विद्यार्थीको हकहितमा मात्र सीमित नभई अन्याय अत्याचारविरुद्ध आवाज उठाउनुपर्ने बताएका थिए।

samajikkhabar.com