samajikkhabar.com

काठमाडौं : धादिङ घर भएर पढाई साथ-साथै रोजगारीको शिलशिलामा कलंकी बस्ने सुरेश आचार्यले आठ थान साधारण पेपर मास्क किने, यसका लागि उनले २०० रुपैयाँ तिरे । 

तर करिब एक महिनाअघि भने उनले त्यति नै परिमाणको मास्क ४० रुपैयाँमा किनेका थिए। अहिले उनले प्रतिगोटा २० रुपैयाँ बढी तिर्नुपर्‍यो।

फार्मेसीमा पेपर मास्क नपाएपछि फुटपाथ पसलबाट किनेको उनको भनाइ छ। ‘अरू बेला प्रतिगोटा पाँच रुपैयाँमा मास्क किनिन्थ्यो।

अहिले त्यसलाई २५ रुपैयाँ तिर्नुपर्‍यो,’ उनले भने। खुद्रामा प्रतिगोटा पाँच र १० रुपैयाँमा पाइने साधरण मास्क अहिले उपभोक्ताले २५ देखि ३० रुपैयाँसम्म तिर्नुपरेको छ। मास्कको सटेज हुन थालेदेखि केही फार्मेसीले बिक्री नगरेको र केहीले थोक मूल्य नै बढेर आएपछि त्यहीअनुसार बिक्री गरेको बताएका छन्।

महिना दिनदेखि मास्क बेच्न छोडिसकेको बानेश्वर स्थित निलगिरी फार्मेसीका संचालक हेमन्त गिरीले बताए। अहिले पेपर मास्क छाडी कपडाको मास्क बिक्री गरिरहेको गिरीले सुनाए।

‘नेपाली उद्योगले बनाएका कपडाको कटन मास्क प्रतिगोटा १०० रुपैयाँमा बिक्री गर्दैछौं,’ उनी भन्छन्, ‘पहिला तीन तहको फिल्टर भएको मास्क पाँच रुपैयाँ र चार तहको फिल्ट र भएको १० रुपैयाँमा बिक्री गर्थ्यौं।’

कोरोना भाइरसको संक्रमणले मास्क सटेज हुन थालेयता माग बढे पनि महँगोमा बिक्री नगरेको उनको भनाइ छ। अहिले दिनमा १०० भन्दा बढी ग्राहक मास्क किन्न आउने गरेको उनले बताए।

त्रिपुरेश्वरमा सर्जिकल स्टोर सञ्चालन गरिरहेका व्यवसायीले होलसेलमै एक डब्बा मास्कको मूल्य नै १७ सय रुपैयाँ पर्ने बताए। ‘एक डब्बामा ५० थान मास्क हुन्छ, हामीलाई त्यसको १७ सयदेखि २ हजार रुपैयाँसम्म पर्छ।

त्यसैले खुलामा ३० रुपैयाँमा बिक्री गरिरहेका छौं। मास्क सटेज हुनुअघि एक डब्बाको १२० देखि १४० रुपैयाँ पर्थ्यो। अहिले लगभग १४ गुना बढेको छ।

ब्यापारीले मनपरीतन्त्र लादेरै भएपनी मास्कको मुल्य आकाशिएको छ तर यसमा कुनै पनि सरकारी अनुगमन र कालो बजारियालाइ नियमन गर्न नसक्नु सरकारी पक्षकै कमजोरी रहेको सर्बसाधारणको गुनासो छ।

samajikkhabar.com