samajikkhabar.com

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीलाई उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल लगिएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट बिहीबार अपरान्ह काठमाडौं ल्याइएका मैनालीलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएको हो।

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ कालापानीमा कार दुर्घटना हुँदा मैनाली घाइते भएका थिए।

मैनाली चढेको बा४च २१२० नम्बरको कारलाई ना४ख ७६६८ नम्बरको पिकअप भ्यानले बिहीबार ठक्कर दिएको थियो।

कारमा रहेका मैनालीका छोराछोरा सरोज, बुहारी पूजा, नाति एन र चालक रामप्रसाद पौडेल पनि सामान्य घाइते छन्।

मैनालीको परिवार झापाबाट काठमाडौं आउँदै गर्दा दुर्घटनामा परेका थिए।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले महासचिव मैनालीलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको जानकारी दिए।

‘सेनाको हेलिकप्टरबाट उहाँलाई काठमाडौं लगिएको छ। ग्राण्डी अस्पतालमा उपचार गराउने हो,’ उनले भने।

टाउको र खुट्टामा चोट लागेका मैनालीको बर्दिवासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचार गरिएको थियो।

उक्त अस्पतालले रिफर गरेपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।

samajikkhabar.com