samajikkhabar.com

बैतडी : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारीले तीनदिने भ्रमणका क्रममा बैतडीसहित सुदूरपश्चिमका ५ जिल्लाका विभिन्‍न कार्यक्रममा सरिक हुने जनाइएको छ।

बुधबार मध्यान्ह १२ बजे धनगढीमा हुने विश्‍न नेपाली साहित्य महोत्सवको उद्घाटन गरी २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।  बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विशेष पूजा-आजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्राबासको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। सोही कार्यक्रममा  पाटन नगरपालिका र सम्पूर्ण जिल्लाबासीको तर्फबाट पाटनमै नागरिक अभिनन्दन गरिने जनाइएको छ।

त्यसभन्दा अगाडि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाममा पनि राष्ट्रपतिले विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको छ। साथै मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरको नवनिर्मित भवनको उद्घाटका साथै नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ।

यस्तै १६ गते बिहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारी १७ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

samajikkhabar.com