samajikkhabar.com

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक ‘साक्षर’ जिल्ला भएको छ । जिल्लाका ६ नगरपालिका र ७ गाउँपालिका साक्षर घोषणा भइसकेका छन् ।

मण्डन देउपुर नपाले वि.सं.२०७५ पुस १३ गते ‘साक्षर नगर’ घोषणा गरेपछि स्थानीय तहले क्रमैसँग साक्षर घोषणा गरे अनुसार चौँरी देउराली गाउँपालिकाले बिहीबार साक्षर पालिका घोषणा गरेपछि साक्षरता अभियान जिल्ला समन्वय समितिले यही फागुन ७ गते साक्षर जिल्ला घोषणाको तयारी गरिरहेको छ ।

समितिका संयोजक उद्धव केसीले यही फागुन ७ गते ‘साक्षर जिल्ला’ घोषणाको तयारी तीव्ररुपमा भइरहेको बताए । समितिका अनुसार जिल्लाका १५ देखि ६० उमेर समूहका ९६.४८ प्रतिशत जनसंख्या साक्षर भएका हुन् । जसमध्ये १ लाख ९६ हजार १७४ पुरुष र एक लाख ७७ हजार ५५४ महिला साक्षर भएका हुन् ।

वि.सं.२०६८ को जनगणना अनुसार जिल्लामा ३ ७३ हजार ७२८ जनसंख्या रहेको छ । जनगणना अनुसार तत्कालीन अवस्थामा २ लाख ९२ हजार १७९ जनसंख्या साक्षर भएकामा तत्पश्चातका वर्षमा निरक्षर जनसंख्याका लागि संचालन भएको सघन साक्षरता कार्यक्रमबाट आर्थिक वर्ष २०७६÷७७ सम्म ३ लाख ६० हजार ५६० जनसंख्या साक्षर भएको संयोजक केसीले जानकारी दिए । उनका अनुसार जिल्लाका १३ वटै स्थानीय तहले बाँकी रहेका तथा अभियानका क्रममा साक्षर हुन छुट निरक्षर जनसंख्यालाई आगामी दिनमा साक्षर गराउने प्रतिबद्धतासहित साक्षर नगर÷गाउँपालिका घोषणा गरेका हुन् ।

समितिको तथ्याङ्कअनुसार जिल्लाको मण्डन देउपुर नपाका ९५.२७, धुलिखेलका ९८.०७, बनेपा नपाका ९७.०७, पनौती नपाका ९५.०५, नमोबुद्ध नपाका ९६.४०, पाँचखाल नपाका ९८.९८ तथा खानीखोला गाउँपालिकाका ९६.७१, तेमालका ९५.९७, भुम्लुका ९५.०५, बेथानचोकका ९५.८१, महाभारतका ९७.९८, रोशीका ९८.९८ र चौँरी देउराली गाउँपालिकाका ९६.८३ जनसंख्या साक्षर भएका हुन् ।

१५ देखि ६० वर्ष उमेर समूहका जनसंख्या ९५ प्रतिशतभन्दा माथि रहेको सन्दर्भमा साक्षर जिल्ला घोषणा गर्न सकिने अन्तर्राष्ट्रिय मान्यता एवं नेपालको प्रचलित कानून बमोजिम जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । उनले भने,“जिल्लामा साक्षरता अभियानलाई निरन्तरता दिँदै जानेछौँ, यो अभियान पनि सरकारी तथा गैरसरकारी क्षेत्रको सहकार्यमा सफल भएको हो” यसअघि मुलुकका ५१ जिल्ला साक्षर घोषणा गरिसकिएका छन् ।

विभिन्न दस्तावेजमा जनाइए अनुसार नेपालमा वि.सं. २००४ मा आधार शिक्षाको थालनीसँगै लेख्य साक्षरता शिक्षाको औपचारिक प्रारम्भ भएको थियो । वि.सं.२००८ पछि भने आम जनसंख्यालाई साक्षर बनाउने अभियानको थालनीसँगै ‘नेपालमा शिक्षा प्रतिवेदन-२०११’ले प्रौढ साक्षरता कार्यक्रमलाई जोड दिन सिफारिस गरेपछि वि.सं.२०१३ देखि योजनाबद्ध रूपमा अघि बढाइएको हो ।

साक्षरता शिक्षालाई जीवनपद्धतिसँग आबद्ध गर्न वि.सं.२०२२ देखि कार्यमूलक साक्षरतालाई समावेशपछि वि.सं.२०२८ को राष्ट्रिय शिक्षा पद्धति योजनाको मध्यावधि मूल्याङ्कनपछि साक्षरता कार्यक्रमलाई अझ व्यापकता बनाइँदै ल्याइएको छ । रासस

samajikkhabar.com