samajikkhabar.com

सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ को निर्माण कार्य अघि बढाउने तयारी थालिएको छ। सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो।

चिनियाँ निर्माण कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन, जनशक्ति ल्याउनेलगायतका काम अघि बढाएको सडक विभागले जनाएको छ। कम्पनीले अहिले आयोजना स्थलसम्म पुग्ने पुहँच सडक निर्माण शुरु गरिसकेको सडक विभाग विकास समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए।

सोही आयोजनाअन्तर्गत काठमाडौँतर्फ बलम्बुसम्म दुई दशमलव पाँच प्रतिशत र धादिङतर्फ ५०० मिटर सडक निर्माण हुँदैछ। आयोजना हेर्ने गरी क्याम्प कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको उनले बताए।

‘कम्पनीले आवश्यक तयारीको काम गरिरहेको पाइएको छ’ उनले भने।

निर्माणस्थलमा झण्डै ८० जनशक्ति कार्यरत छन्। तीमध्ये कतिपय नेपाली र कतिपय चिनियाँ छन्। सुरुङ निर्माण नेपालका लागि नयाँ भएकाले विभागले तीन जना इञ्जिनीयर अनुभवका लागि पठाउने भएको छ।

‘त्यो अनुभव भविष्यमा हामी अरु स्थानमा सुरुङ बनाउनमा प्रयोग गर्न सक्छौँ’ उनले भने।

निर्माणस्थल खाली गराउन विभागले समन्वयको काम गर्दै आएको छ। स्थानीयवासीलाई मुआब्जा वितरण गरेर घर हटाउने, बिजुली, खानेपानीलगायतका संरचना हटाउने काम भइरहेको आयोजना प्रमुख श्यामप्रसाद खरेलले बताए।

जग्गाका अधिकांश समस्या समस्या भइसकेको उनको भनाइ थियो।

‘गुठीका नाममा जग्गा भएका स्थानीयवासीको मात्रै मुआब्जा बाँकी छ, उहाँहरुले आवश्यक कागजात ल्याएपछि त्यो टुङ्गो लाग्छ’ उनले भने।

सुरुङमार्गले सडकको चाप हटाउने मात्र नभई नेपालकै समृद्धिमा विशेष योगदान गर्न सक्ने देखिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले गरेको विस्तृत परियोजना प्रतिवेदन डिपिआरमा सुरुङमार्गको लगानी आगामी सात वर्षमा उठ्ने उल्लेख छ।

प्राविधिक दृष्टिकोणबाट ५०० मिटरभन्दा बढी लम्बाइको सुरुङमार्गलाई आधुनिक मानिन्छ। यस्ता सुरुङमार्गमा हावाका लागि भेण्टिलेटर र प्रकाशको व्यवस्था मिलाइन्छ। नेपालमा ५०० मिटरभन्दा कम लम्बाइका तीन सुरुङमार्ग भए पनि त्यसभन्दा बढी लम्बाइको यो नै पहिलो सुरुङमार्ग हो।

samajikkhabar.com