samajikkhabar.com

धनुषा – मिथिला नगरपालिकाकाे औरही खोलामा भइरहेकाे अवैध बालुवा, गिट्टी उत्खन्नकाे विराेध गर्ने युवा अभियन्ता ‘ओमप्रकाश’ भनिने दिलिपकुमार महतोको निर्ममतापूर्वक हत्या गरी घटनालाई दुर्घटनाकाे रुप दिन टिप्परले किचिएकाे प्रहरीले निष्कर्ष निकालेकाे छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार राति साढे ८ बजे एक पत्रकार सम्मेलनकाे आयोजना गरी हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेकाे छ ।पक्राउ पर्नेहरुमा चुरियामाई बालुवा गिट्टी प्रशाेधन केन्द्रका सञ्चालक विपिनकुमार महतो, महोत्तरी बर्दिबास ९ का टिप्पर चालक मुनिन्द्र महतो, बर्दिबास २ का लोडर चालक जितेन्द्रकुमार महतो र स्थानीय मृतकका साथी रोशन कुमार यादव रहेका छन् ।

शुक्रबार बिहान झण्डै ४ बजेतिर बालुवा उत्खन्न भइरहेको भनि अभियन्ता दिलिपलाई उनको साथी रोशनमार्फत औरही खोलामा सुनियोजितरुपमा बोलाइ कुटपिट गरी हत्या गरेर घटनालाई दुर्घटनाको रुप दिन ना ७ ख ६४१३ नम्बरको टिप्परले किचिएकाे धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिनुभयाे । 

उहाँले भन्नुभयो, ‘अवैध बालुवा, गिट्टी उत्खन्न गर्न नदिन दिलिपले चलाएको अभियानले गर्दा क्रसर सञ्चालकलाई करोबार गर्न समस्या भइरहेको हुँदा योजनाअनुसार रोशनलाई प्रयोग गरेर दिलिपलाई बिहानै ४ बजे खोलामा बालुवा गिट्टी उत्खन्न भइरहेको छ भन्न लगाएर खोलामै आरोपितहरुले पहिला कुटपिट गरी सिकिस्त बनाएर फलामको लिभरले दाहिने कोखामा घोचेर हत्या गरे र घटनालाई दुर्घटनाको रुप दिन टिप्पर चलाइएको प्रारम्भिक अनुसन्धान देखिएको हो ।’

घटनापछि स्थानीयको सहयोगमा आफन्तजनले घटनाको दिन पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए । अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले लाठी चार्ज र अश्रुग्याससमेत प्रहार गरेकाे थियो ।

यता प्रहरीले बिना मुचुल्काको शव उठाएको भन्दै स्थानीय र आफन्त आक्राेशित भएका थिए । त्यसपछि प्रहरीले आरोपितहरु पक्राउ परिसकेको र उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता पश्चात पीडितहरुको जाहेरीपछि शनिबार बेलुका शवको पोष्टमार्टम भएको छ ।

पोष्टमार्टमपछि पीडित परिवारले शव बुझिसकेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयाे । 

samajikkhabar.com