samajikkhabar.com

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफुलाई मिडियासँग बोल्न नै मन पर्न छाडेको प्रतिक्रिया दिएका छन् । ‘अहिले बोल्नलाई आमसभा चाहिदैन, मिडियाले संसारमाँझ छिनभरमै पुर्‍याउँछन्, तर एउटा कुरा भन्दा, पुर्वदृष्टि राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति हाबी भएको छ,’ उनले भने । उनले अहिलेको पत्रकारिता देखेर आफुलाई राजीनामा दिएर बस्ने झोंक चल्ने गरेको बताए । 

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको स्पष्ट रहन आग्रह गरे । ‘म पनि वर्षौसम्म पत्रकारिता गरकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ,’ उनले भने । उनले संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता विपरीत हुने खतरा आए आफैँ राजीनामा दिएर आन्दोलनमा होमिने बताए । 

मन्त्री बास्कोटाले सरकारले ‘संमृद्ध नेपाल, गरिब पत्रकारिता’ को अवधारणा नलिएको स्पष्ट पारे । ‘अब कमिसन पत्रकारिता धेरै चल्दैन,’ उनले भने, ‘पत्रकारिता व्यवसायिक हुनुपर्छ, आफ्नो र अर्को भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्नसक्ने वातावरण अब बन्नुपर्छ ।’ 

मन्त्री बास्कोटाले पत्रकारको हकहित भन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने पनि बताए । उनले फरक प्रसंगमा आफू मन्त्री बनेपछि कमिसन दिन आउनेहरूको नामसहित लेखनमा पनि आफू सक्रिय रहेको बताए । उनले आफु मन्त्री भएपछि पाँच करोड ३४ लाख रुपैयाँको पत्रकारिता वृद्धि विकास कोष स्थापना गरेको भन्दै अब त्यसलाई बढाएर १० करोड रुपैयाँ पुर्‍याउने उदेश्य रहेको बताए । 

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संसदमा पुगेको सूचना प्रविधि विधेयक अहिले नभएर एक वर्ष अघि नै पुगेको र महासंघले विरोध गर्दै आएको बताए । ‘महासंघ सरकारको पक्षधारी हैन, ६५ वर्षदेखि माग गर्दै आएको नागरिक अधिकारवादी संस्था हो, हामी अहिलेपनि चुप लागेर बसेका छैनौँ,’ उनले भने । 

उनले प्रेस जगतलाई संकुचन गराउने मिडिया विधेयक सच्याउन महासंघको दबाबपछि नै सरकारले समिति बनाएर छलफल थालेको जानकारी दिए । 

कार्यक्रममा महासंघका उपाध्यक्ष दिलिप थापामगर, भक्तपुर महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी, वरिष्ठ पत्रकार कविर राणा, प्रदेश सचिव अमर भुजु र पुर्वअध्यक्ष नारायण किलम्बु लगायतले प्रेस स्वतन्त्रता हनन हुने गरी ल्याएका विधेयकहरु सच्याउनुपर्ने सुझाव दिए । 

शाखाले भक्तपुरमा रहेर पत्रकारितामा योगदान पुर्‍याएवापत् दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले मैयादेवी स्मृति पुरस्कारबाट शाखाका पुर्वअध्यक्ष तथा दबाब साप्ताहिकका सम्पादक अमर भुजु र स्वर्गीय भगवान महर्जन स्मृति पुरस्कारबाट ध्रुव मधिकर्मीलाई पुरस्कृत गरेको छ ।

samajikkhabar.com