samajikkhabar.com

नेपाल एक बहुधार्मिक अनि बहुसांस्कृतिक विविधताले भरिपूर्ण देश हो । आराध्य देव श्री पशुपतिनाथको विश्रय स्थल तथा केदारनाथको शिर श्री डोलेश्वर माहादेवको उत्पत्ती स्थल नेपाल हो । श्री पशुपतिनाथ, श्री स्वयम्भुनाथ, श्री मुक्तीनाथको उत्पत्ती स्थलको रुपमा चिर परिचित स्थल नेपाल । विश्वमाझ मन्दिरै मन्दिरको देश भनेर चिनिने नेपालमा यस्ता धेरै धार्मिक स्थलहरु छन् । जसको बारेमा धेरैलाई थाहा नहुन सक्छ, त्यस्तै मध्येको एक धार्मिक स्थल हो धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित श्री ढोला मण्डली माताको मन्दिरको पनि छुट्टै खालको विशेषता रहेको छ ।

महिलाहरुलाई मन्दिर प्रवेशमा पुर्णरुपमा निषेध गरिएको छ । श्रावण, एकादसि, औँशी र मलमास परेको महिना बाहेक हरेक हप्ताको मंगलवार पुजा लाग्ने गर्दछ । सोचेको अनि आँटेको सबैकुरा मन्दिरमा भाकल गरेपछि पुर्णहुने जनविश्वास रहेको छ । यो मन्दिर देविको मन्दिर भएकोले यो मन्दिरमा साना पाठीहरुको बलि दिईने गरिन्छ । मन्दिरको वरपर मण्डलि संरक्षण समितिद्वारा संरक्षित वन रहेको छ । उक्त वनमा भएका बोट बिरुवालाई हानि नोक्सानि पुर्याउन हुँदैन भन्ने जनविश्वास रहेको छ ।

चारैतिर जंगलले ढाकिएको र बिचमा रहेको यो मन्दिरमा धादिङ, नुवाकोट, गोरखा, लगायत अन्य जिल्लाहरुबाट पनि भक्तजनहरुको उपस्थिती हुने गरेको छ । १५ वर्ष उमेर नकटेको मगर जातिको मुख्य पुजारी रहने यस ढोलामण्डली मन्दिरको विशेषता पनि भीन्न रहेको छ । मन्दिरको र्को रोचक कुरा त केहो भने यहाँ चढाएको प्रसाद मन्दिरकै तोकिएको स्थान भित्र पुरुषहरुले मात्रै खान सक्दछन् । अन्य मन्दिरको जस्तै प्रसाद घरैमा लगेर खान मिल्दैन ।

ऐतिहासिक महत्व बोकेको यस मन्दिर एउटा पर्यटकिय गन्तव्य बन्न सक्दछ । उचित प्रचारको अभावमा थोरैमात्र ठाउँका मानिसलाई यस मन्दिरको विषयमा ज्ञान छ । यस मन्दिरमा जानको लागि जिल्ला सदरमुकाम भन्दा ३ किलोमिटर वर ससाह चौतारोबाट र ४ किलोमिटर वर ससाह प्रतिक्षालयबाट कच्चि बाटो हुँदै जान सकिन्छ भने, माथिल्लो भेगबाट मन्दिरमा जानको लागि जिल्लाको निलकण्ठ नगरपालिका वडा नं ९ पाल्पा भञ्ज्याङबाट ग्राभेल बाटो हुँदै पनि मन्दिर जान सकिन्छ । मन्दिर सम्मै मोटर बाटोले जोडिएको यो मन्दिर लाई राष्ट्रिय रुपमै चिनाउनको लागि ज्वालामुखि गाउँपालिकाले पत्रकार भेटघाट कार्यक्रमका साथै मन्दिरको वरपर रहेको भोजनस्थललाई पनि व्यवस्थित गर्ने योजना रहेको गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष कृष्ण बहादुर गुरुङले बताउनु भएको छ ।

उचित प्रचार प्रसार भए ऐतिहाँसिक महत्व रहेको एस मन्दिर पर्यटकिय स्थल बन्न सक्दछ । आन्तरिक र वाह्य पर्यटकले यो स्थलको सहज रुपमा अवलोकन गर्न सक्दछन् । सदरमुकामबाट नजिकै रहेको यस मन्दिर प्रचारको पर्खाइमा रहेको छ ।

samajikkhabar.com