samajikkhabar.com

मान दिनेलाई मान दिने हो

सान दिनेलाई हान्दिने हो।’

काली गर्छे माया, गोरी गर्छे प्यार।

ड्राइभरको जिन्दगी गज्जब छ यार।’

रिल्याक्सको जिन्दगी गाडीको वास

एक्लो छ जिन्दगी प्रेमिकाको आश।’

यस्ता फिल्मी डाइलग र प्रेमिल कविता तपाईंले पनि ट्रक र बस वा अरू कुनै गाडीमा देख्नुभएको होला।

विशेषगरि ट्रक तथा बसको पछाडि लेखिएका यस्ता साहित्य लामो तथा छोटो दूरीको सवारी साधनमा देखिन्छन्।

छोटो कविताजस्तो बनाएर लेखिने यस्तो साहित्यलाई पछिल्लो समय ट्रक साहित्य नै भन्न थालिएको छ।

गाडीको अगाडिपछाडि लेखिने यस्ता साहित्यले ड्राइभरको रहर, बाध्यता, भोगाइ पनि देखाउँछ।

फलामले इन्जिन बन्यो, बडी बन्यो फाइबरले

नखरमाउली पोइल गई गाली खायो ड्राइभरले।

रक्सी पिउने रहर हुँदैन तर नपिएको प्रहर हुँदैन

भागेर जाउँ कुन ठाउँ जाउँ भट्टी नभएको सहर हुँदैन।

अबको सवारी सधानमा यस्ता कविता वा स्लोगन लेख्न नपाइने भएको छ। नयाँमा  नलेख्नेमात्र होइन आफ्नो गाडीमा यस्तो लेखेकाले तुरून्त मेट्नुपर्नेछ।  

यातायात व्यावस्था विभागले बिहीबार सूचना जारी गर्दै गाडीको अघिपछि लेखिने यस्ता कविता मेट्न भनेको हो।

कुनै पनि सार्वजनिक सवारी साधनमा यस्तो स्लोगन, कोटेसन वा कविता राख्न नपाइने विभागले जनाएको छ।

कहिँकतै उच्छृङखल साहित्य भेटिए पनि कतिपय सवारीको पछि लेखिने यस्तो कविताले देश र समाजको अवस्था पनि झल्काउँथे।

‘नेपाल त पूरानै ठीक थियो’

‘अब देशले कोल्टे फेर्छ भन्थे उत्तानो नै परेछ’

‘कृपया हर्न नबजाउनु होला मेरो देश सुतिरहेको छ’

ट्रक साहित्य किन मेट्ने त? यो प्रश्न हामीले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई सोध्यौं।

‘प्रिय तिमीबिना बाँच्न गाह्रो छ, भन्ने पढ्न कति समय लाग्ला,’ हमालले भने, ‘गाडी चलाइरहेको ड्राइभरले आफ्नो अघि लेखिएका त्यस्तो कोटेसन पढ्न थाल्दा दुर्घटना भएको पनि भेटियो। दुर्घटना कम गर्न यो निर्णय गरेको हो।’

उनका अनसार विभागले निर्णय कार्यान्वयन गर्न सबै यातायात कार्यालयमा चिठी पठाइसकेको छ।

सार्वजनिक सवारी साधानमा यस्तो साहित्य वा कोटेसन भटिए सवारी जाँचपास नहुने हमालले बताए।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दुर्घटना कम गर्नगरी बनेको सरकारी निर्णय राम्रो भएको बताए ।

‘ठीकै हो, स्लोगनहरूले पछाडिको चालकलाई अप्ठेरो हुन्छ,’ सिटौलाले भने, ‘स्लोगनमात्रै होइन पछिल्लो समय सार्वजनिक सवारी साधनमा लेखिएको विज्ञापन पनि मेट्नुपर्छ।’

यातायात व्यावस्था विभागले बिहीबारदेखि नै लागू भएको जनाएको छ।

samajikkhabar.com