samajikkhabar.com
mahara

जिल्ला अदालत काठमाण्डौले पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।

संसद सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका महरालाई थुनछेक बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएकाले थुनामै राख्न अदालतले आदेश दिएको हो ।

जिल्ला अदालत काठमाण्डौका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामै राखेर मुद्दा अगाडि बढाउन आदेश दिएको हो । पीडितले दिएको जाहेरी, घटनास्थलको मुजुल्का, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा पीडितले घटनास्थलमा दिएको बयानको आधारमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । अदालतको आदेशपछि महरालाई डिल्लीबजार कारागार पठाइएको छ । अब यो मुद्दाको किनारा नलागेसम्म महरा कारागारमै बस्नु पर्नेछ ।

जिल्ला अदालत काठमाण्डौमा महराका तर्फबाट सोमबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गरेका थिए। आइतबार महराको पक्षबाट अधिवक्ता भोजराज आचार्य र लभप्रसाद मैनालीले बहस गरेका थिए । आइतबार बहस नसकिएपछि सोमबारलाई हेर्दाहेर्दैमा राखिएको थियो ।

महराको पक्षबाट बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए । न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा बहस भएको थियो । अदालतमा बहस भैरहँदा पीडित भनिएकी रोशनी शाहीले बन्द इजलासमा बोल्ने अनुमति मागे पनि न्यायाधीस पाण्डेले अनुमती दिएनन् । महराले बलत्कार प्रयास गरेको भनेर प्रहरीमा जाहेरी दिए पनि उनले अदालतमा भने बयान फेरेकी थिइन् । महरा आफ्नो कोठामा नआएको उनले अदालतमा बयान दिएकी थिइन्।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएको असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

samajikkhabar.com