samajikkhabar.com

भारतीय संसदको माथिल्लो सदन राज्यसभाले मंगलबार ’तीन तलाक’ विधेयक पारित गरेको छ । सो विधेयक अनुसार मुस्लिम समुदायका पुरुषले श्रीमतीलाई तिनपटक तलाक तलाक तलाक भनि पारपाचुके गरेमा सो अपराध ठहर्छ । तर राज्यसभाले तीन तलाक विधेयक पारित गरेको अघिल्लो दिन भारतकै एक महिलाले तीन तलाकको विषयलाई लिएर आत्महत्याको प्रयास गरेको समाचार भारतीय संचार माध्यममा आएको छ ।

भारतीय समाचारमाध्यममा आएको खबरअनुसार भारतको अहमदावादकी एक मुस्लिम महिलाले आत्महत्याको प्रयास गरेकी हुन् । समाचारमा बताइए अनुसार ती महिलाका श्रीमानले तीन तलाक दिएका थिए । श्रीमानले तीन तलाक दिएपछि उनले आत्महत्याको प्रयास गरेकी थिइन् ।

उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि अहमदाबादको एक अस्पतालमा भर्ना गरिएको छ । ती महिलाले पति र परिवारका सदस्यविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

त्यहाँको लोकसभाले तिन तलाक विधेयक एक वर्ष पहिले नै पेस गरेको थियो । भारतीय माथिल्लो सदनमा यो लामो संघर्ष पछि पारित भएको थियो । अब भारतीय राष्ट्रपतिबाट अनुमोदन भएपछि उक्त विधेयकले कानुनको मान्यता पाउनेछ । केन्द्र सरकारले २१ फेब्रुअरीदेखि अध्यादेश जारी गर्दै तीन तलाक विधेयकलाई मान्यता दिएको थियो ।

तीन तलाक कानुनले के गर्छ ?

  • मौखिक, लिखित या कुनै माध्यमबाट पतिले पत्नीलाई तीन तलाक दिएमा अपराध सरह मानिने छ ।
  • पतिलाई प्रहरीले गिरफ्तार गर्न सक्छ।
  • ३ वर्ष कैद र जरिवाना हुनसक्छ । सो कुरा मजिस्ट्रेट कोर्टबाट निर्णय हुनेछ ।
  • पीडित महिलाको पक्षका कुरा नसुनिकन तीन तलाक दिने पतिलाई मजिस्ट्रेटले जमानत दिँदैन ।
  • तीन तलाक दिएपछि पत्नी र बच्चाको भरणपोषणको खर्च पतिले व्यहोर्नुपर्ने हुन्छ ।
  • तीन तलाक पछि साना बालबालिकाको रेखदेख गर्ने जिम्मा आमाको हुन्छ।
  • तीन तलाकको कानुनमा पति-पत्नीबीच सम्झौता गरी पुनः सम्बन्ध कायम राख्ने विकल्प पनि छ ।
samajikkhabar.com