samajikkhabar.com

उत्तर कोरियाले दुई पटक छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ । शुक्रवार बिहान देशको पूर्वी तटीय क्षेत्रमा ती परीक्षण गरिएको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन् । शुक्रबार बिहान गरिएका प्रहार सी अफ जापानमा खसेका थिए ।

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परिक्षण
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परिक्षण

एकसाता अघि पनि प्योङयाङले क्षेप्यास्त्र परीक्षण गरेको थियो । अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरेपछि त्यसको प्रतिक्रियाको रूपमा उत्तर कोरियाले पछिल्ला परीक्षणहरू गरेको अनुमान गरिएको छ ।

उत्तर कोरियाले पछिल्लो समय यसअघि प्रयोग नभएको क्षेत्रमा अहिले क्षेप्यास्त्र परीक्षण गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा बोल्दै पछिल्ला परीक्षणहरू छोटो दूरीका र निकै सामान्य भएको भन्दै त्यसबाट आफू चिन्तित नभएको बताएका छन् ।

बुधवार उत्तर कोरियाले परिक्षण गरेका दुईवटा क्षेप्यास्त्रले २ सय ५० किलोमिटर दूरी पार गरेको दक्षिण कोरियाले बताएको थियो । अहिले परीक्षण गरिएका क्षेप्यास्त्र अघिल्ला भन्दा फरक खालका भएको बताइएको छ । उत्तर कोरियाले हालसालै अमेरिका र दक्षिण कोरियाबीच आयोजना हुन लागेको संयुक्त सैन्य अभ्यासको विरोध गर्दै आएको छ ।

दुवै देशले अभ्यास रद्द गर्न अस्वीकार गरेका छन् । अभ्यासलाई उत्तर कोरियाले युद्धको तयारीको रूपमा लिएको छ । साथै उसले अभ्यासले अमेरिकासँग हुने वार्ता प्रभावित हुने चेतावनी समेत दिएको छ ।

samajikkhabar.com