samajikkhabar.com

काठमाडौँ : दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा फायरिङ भएको छ ।

सोमबार राति भारत-चीनबीचको विवादित पूर्वी लद्दाखमा भारतले चेतावनी फायरिङ गरेपछि चीनले पनि जवाफी फायरिङ गरेको चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले जनाएको छ ।

भारतीय सेनाले सीमा पार गरेर फायरिङ गरेको र अवस्थालाई स्थिर गर्न बाध्य भएर जवाफी कारवाही गर्नुपरेको चिनियाँ सेनालाई उदृत गर्दै टाइम्सले जनाएको छ ।

भारतीय समाचार एजेन्सी एएनआइले समेत पूर्वी लद्धाखको सीमामा फायरिङ भएको उल्लेख गरेको छ ।

चीनको सेनाका प्रवक्ता सिनियर कर्नेल जोंग शियुलीले विज्ञप्ति जारी गर्दै भारतीय सेना भारत-चीन सीमा पार गरेर पन्गोग त्सो लेकको दक्षिणी किनाराको पहाड नजिक शेनपाओ पहाडको इलाकामा घुसेको बताएका छन् ।

चीनले यो उलंघनपछि भारत र चीनबीच पछिल्लो पटक बनेको सहमतिको गम्भीर उल्लंघन भएको जनाउदै तनाव बढ्न सक्ने संकेत गरेको छ ।

चीनले यसबाट दुवै पक्षमा असमझदारी बढ्ने र यो कदम सेनालाई उत्तेजित बनाउने कदम भनेको छ । चीनले भारतलाई सीमा क्षेत्रमा यस्ता गतिबिधी बन्द गर्न र सीमाबाट सेना फिर्ता लैजान आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

केही दिनअघि भारत र चीनका रक्षामन्त्रीको मस्कोमा छलफलपछि भएको यो घटनाले अब तनाव थप बढ्ने संकेत देखिएको छ ।

चिनियाँ सेनाले सीमावर्ती भारतीय राज्यबाट पाँचजना नागरिकहरूलाई कब्जामा लिएको समेत भारतले दाबी गरेको छ ।

गत जुनमा भएको एउटा हिंसात्मक झडपमा २० भारतीय सैनिकहरू मारिएका थिए। त्यस घटनामा कति चिनियाँ मारिए भन्ने प्रष्ट छैन।

samajikkhabar.com