samajikkhabar.com
चीन सरकारले नेपाली सेनालाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने

चीन सरकारले मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा आइतबार दुई पक्षीय सम्झौता भएको छ ।

यो सम्झौतामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री वेइ फेङ्हेबी बीच आइतबार बेइजिङ्मा हस्ताक्षर भएको हो ।

चीनका राष्ट्रपति सी जिनपिङको गएको असोज २५ र २६ मा भएको नेपालको राजकीय भ्रमणका क्रममा चीनले नेपाललाई यो सहायता उपलब्ध गराउने प्रस्ताव गरिएको थियो । उक्त सहयोग तीन वर्षभित्रमा प्राप्त हुनेछ ।

गएको वर्षको चीन भ्रमणका क्रममा पनि दुई देशका रक्षामन्त्रीबीच नेपाली सेनालाई पन्ध्र करोड युयान बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएकोमा सो कार्यान्वयनको चरणमा छ ।

हस्ताक्षर हुनुपूर्व उपप्रधानमन्त्री र चीनका रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो । उपप्रधानमन्त्री पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशील, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको बताउँदै नेपाल र चीनबीचको असल र मैत्रीपूर्ण सम्बन्धलाई भर्खरै सम्पन्न चीनका राष्ट्रपतिको राजकीय भ्रमणबाट थप उचाइमा पुर्‍याउन र दुई देशबीच सम्पर्क र सहयोग विस्तार गर्न योगदान गरेको बताए । उनले चीनले नेपालको आर्थिक सामाजिक विकासमा निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि चीनसरकारप्रति धन्यवाद व्यक्त गरे ।

नेपाल–चीनबीचको मित्रतालाई प्रवर्धन गर्ने कुरा दुई देशका जनताको विकास, समृद्धि र पारस्परिक हितलाई प्रवर्धन गर्ने साझा उद्देश्यमा केन्द्रीत रहेको कुरा पनि उनले भेटवार्ताका क्रममा राखेका थिए । नेपाल एक चीननीतिको पक्षमा सदैव प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपालले आफ्नो भूमि तथा सीमा नाकामा छिमेकी मुलुक विरुद्ध कुनै पनि गतिविधि हुन नदिने नीति दृढताका साथ अवलम्बन गर्दै आएको कुरा राखेका थिए ।

samajikkhabar.com