
टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई अस्वीकार गरेका छन्।
अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै टर्की जाने तयारी गरिरहँदा एर्दोआनले यस्तो भनेका हुन् ।
एर्दोआनले यस विषयमा रुससँग समेत कुरा गरेका छन्। क्रेम्लिनले सिरियाली सेनामाथि आक्रमण हुन नदिने बताएको छ।
सिरियाका लागि मस्कोका विशेषदूत अलेक्जान्डर लभ्रेन्तेभले सैन्य आक्रमण अस्वीकार्य भएको बताएका छन्। सिरियाली नेता बशर अल असदको रुस मुख्य सैन्य साझेदार हो। सन् २०१५ यता सिरियामा रुसी सेना परिचालित छ। रुसी रक्षा मन्त्रालयका अनुसार उसका सेनाहरूले सिरिया र टर्कीका सेनाको जम्काभेट हुन सक्ने ठाउँमा गस्ती गरिरहेको छ।
युद्ध रोक्ने उपायबारे छलफल गर्न अङ्करासँग आफू सम्पर्कमा रहेको मस्कोले जनाएको छ।