samajikkhabar.com

वीर सहिद बलभद्र कुँवरको सम्झनामा आइतबार नालापानीमा विशेष कार्यक्रम गरिएको छ । अंग्रेज सेनाविरुद्ध बलभद्रको नेतृत्वमा गरिएको युद्धको सम्झनामा देहरादुनका नेपाली भाषीले नालापानी किल्लामा पदयात्रा गर्नुका साथै मेला आयोजना गरेका हुन् ।

अंग्रेज फौजविरुद्ध युद्ध लडेको सम्झनामा उनिहरुले हरेक वर्ष कार्यक्रम गर्दै आएका छन् । गोर्खा डेमोक्र्याट फ्रन्ट देहरादुनका अध्यक्ष सूर्यविक्रम शाहीले बलभद्रका कारण नेपालीहरू संसारमै वीर भनेर चिनिएको बताए । उनले भने, ‘नालापानीमा जस्तो युद्ध कहीं भएन, त्यसैले हरेक वर्ष गोर्खालीको वीरता र नालापानी युद्धलाई सम्झाउने गरेर कार्यक्रम गर्छौं ।’ नालापानी युद्धका क्रममा अंग्रेज फौजका वरिष्ठ अधिकारी मारिएका थिए । जनरल जिलेस्पी मारिएपछि गोर्खाली सेनाको सम्मानमा अंग्रेजले देहरादुनमा जिलेस्पी र बलभद्रको स्मारक बनाएर ‘वीर दुस्मन’ भन्दै युद्धकौशलको सम्मान गरेका थिए । उनले भने, ‘देहरादुनमा उक्त स्मारक हेर्न सकिन्छ, भारत सरकारले पनि स्मारक वरपर घेरबार लगाई संरक्षण गरेको छ ।’

आइतबार आयोजित कार्यक्रममा नालापानी युद्धको सम्झना गर्दै करिब ५ सय नेपालीभाषीले देहरादुनको खलंगाबाट नालापानी किल्लासम्म पदयात्रा गरे । सन् १८१४ देखि १८१६ सम्म गोर्खा र अंग्रेज फौजबीच नालापानीमा युद्ध भएको थियो । अन्तिम पटक अक्टोबर र नोभेम्बरमा युद्ध भएको थियो । देहरादुनमा बसोबास गर्दै आएका नेपाली मूलका स्थानीयले गोर्खालीले युद्ध हारेको नभई सुगौली सन्धिका कारण युद्ध रोकिएको बताउँछन् । वीर गोर्खा कल्याण समितिका महासचिव विशाल थापाले बलभद्रले किल्ला छाड्दा ‘हामीले हारेका छैनौं, किल्ला छाडेर जान्छौं’ भनेको बताए ।

samajikkhabar.com