samajikkhabar.com


काठमाडौं : कोरोना भाइरस (कोभिड–२०१९) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आइतबार दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवार, काठमाडौंमा दिउँसो १ बजे बस्ने समितिका अध्यक्ष उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए। उनका अनुसार बैठकमा प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको सहभागिता रहने छ।

सरकारले कोरोना संक्रमण हुन नदिन जोखिम व्यवस्थापनको तयारी तीव्र रूपमा अघि बढाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्थापकीय तयारी अघि बढाएको हो।

चीन र भारतसँग सिमाना जोडिएका प्रवेश नाकामा ४३ वटा हेल्थ डेस्कबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण सुरु गरिएको छ। नेपाल–भारत सीमामा सचेतना तथा सतर्कता अपनाउन एवं अन्य आवश्यक समन्वय गर्न क्रस बोर्डर मिटिङ गर्न सुरु गरिएको छ।

संक्रमण फैलिएमा देखिन सक्ने विभिन्न तीन किसिमको व्यवस्थाको आकलन गरिएको छ। सोहीअनुरूप आइसोलेसन बेड, औषधि उपकरण र जनशक्तिको अनुमानसहित योजना बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस अगाडि बसेको बैठकले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गरेको थियो। बैठकले विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्चदेखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गरेको थियो। यसअघि भिसा लिइसकेका र अत्यावश्यक काम परेर नेपाल आउने विदेशीले नेपालमा आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र अध्यागमन कार्यालयमा अनिवार्य बुझाउनु पर्नेछ। 

बैठकले १४ मार्चदेखि नेपाल प्रवेश गर्ने नेपाली, गैरआवासीय नेपाली र विदेशीले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो। सरकारले कुटनैतिक र अफिसियल भिषा प्राप्त विदेशीहरु पहिलो पटक नेपाल प्रवेश गर्दा वा बाहिर यात्रा गरी नेपाल फर्किदाको अवस्थामा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था लागु गर्ने भएको छ। 

बैठकले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिलसम्म नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय गरेको छ।

samajikkhabar.com