samajikkhabar.com

लमजुङमा हात्तीपाइले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको छ । लगातर ६ वर्षसम्म औषधि सेवन गरेमा रोग निको हुने स्वास्थ्यकर्मी बताउँछन् । तर, लमजुङमा १० वर्षसम्म औषधि सेवन गर्दा समेत रोग निको नभएपछि नियन्त्रण अभियान चुनौतीपूर्ण देखिएको हो ।जिल्लामा रोग नियन्त्रणका लागि सन् २००९ देखि अभियानगत रुपमा औषधि खुवाउँदै आइएको छ । सन् २००९ देखि २०१५ सम्ममा हात्तीपाइले रोग नियन्त्रण कार्यक्रम सञ्चालन गरेतापनि न्यूनिकरण हुन सकेन ।सन् २०१६ देखि पुनः अयिभान चलिरहेको छ । स्वास्थ्य कार्यालय लमजुङका स्वास्थ्य अधिकृत अमर दवाडीकाअनुसार लमजुङमा सन् २०१८ मा गरिएको सर्वेक्षणमा हात्तीपाइले रोग प्रकोपदर २ दशमलब ८४ प्रतिशत रहेको छ ।

२०१६ मा गरिएको सर्वेक्षणमा प्रकोप दर ५ दशमलव ३२ प्रतिशत रहेको थियो भने २०१४ मा प्रकोपदर ५ दशमलव ६६ प्रतिशत थियो । सन् २०१८ सम्ममा रोग प्रकोप दर १ प्रतिशत भन्दा कम ल्याउने सरकारको लक्ष्य थियो । नेपालभरी प्रकोप दर १ दशमलब ४७ प्रतिशत छ । सरकारले सन् २०२० सम्म देशभर हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।तर, लमजुङमा अझै ६ वर्ष निवारण नहुने भएको छ । ‘सरकारले लिएको लक्ष्यभन्दा हामी पछि पर्ने देखियो,’ स्वास्थ्य अधिकृत दवाडीले भने, ‘अझै दुई वर्ष अभियान चलाएर औषधि खुवाउँछौँ । सन् २०२२, २४ र २६ मा पुनः परीक्षण गरेपछि फेरी अभियान चलाउने की, के गर्ने थाहा हुन्छ।’

नियमित अभियान सकिएर पुनः दोस्रो अभियान चलाउँदा पनि लमजुङमा रोग नियन्त्रण हुन नसकेपछि स्वास्थ्य कार्यालयले अभियान असफल हुनुको कारण खोज्न थालेको छ ।यसअघि औषधि वितरण प्रभावकारी बन्न नसकेको भन्ने गुनासो आएपछि गतवर्षदेखि स्वास्थ्यकर्मीकै निगरानीमा औषधि खुवान थालिएको छ । यो वर्ष माघ २५ गतेदेखि औषधि खुवाउने अभियान सञ्चालन हुँदैछ । यसपटक १ लाख ५९ हजार ८ सय ७८ जनालाई औषधि खुवाउने कार्यक्रम छ । 

‘औषधिका कारण ‘साइड इफेक्ट’ हुन्छ भन्ने भ्रममा पर्दा धेरैले औषधि सेवन गर्न मान्दैनन्, सीएचडीएचका अध्यक्ष डा. डीना श्रेष्ठले भनिन्, ‘जान्ने बुझ्नेले पनि औषधि नखाइदिँदा रोगको पूर्ण रोकथाममा समस्या भएको हो ।’ ग्रामीण क्षेत्रका बासिन्दाले औषधि खाने दर भने सहरी क्षेत्रको तुलनामा बढी देखिन्छ। दुई वर्ष उमेर माथिका, दीर्घरोगी, गर्भवती, सिकिस्त बिरामी, मुटु-कलेजो रोगी, मिर्गौला र छारे रोगी बाहेकका सबैले हात्तीपाइले रोग विरुद्धको औषधि खानुपर्ने भएपनि शिक्षित, सम्पन्न र हुनेखानेले नै औषधि नखाने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

लमजुङमा सन् २०१८ मा गरिएको सर्वेक्षणमा १ सय ३८ जनामा हात्तीपाइले संक्रमण देखिएको छ । तहगत रुपमा सबैभन्दा बढी राइनास नगरपालिकामा यसका रोगी भेटिएका छन् ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको राइनस नगरपालिकाको धमिलिकुवा र चक्रतिर्थमा सबैभन्दा बढी हात्तीपाइले रोगको लक्षण देखिएका विरामी छन् । गतवर्ष औषधी खुवाउँदा स्वास्थ्य कार्यालयले स्वास्थ्य स्वयंसेवकमार्फत लिएको तथ्याङ्क अनुसार जिल्लाभर खुट्टा सुनिएका ३०, हाइड्रोसिल भएका ७६ र अन्य अंगमा प्रभावित ९ जना फेला परेका थिए ।

samajikkhabar.com