samajikkhabar.com

बलात्कारको आरोपमा रामेछापमा एक जना पक्राउ परेका छन् । उमाकुण्ड गाउँपालिका कुभुकास्थलीका ४० वर्षीय संगीत सुनुवारले १३ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत रहेका सुनुवारले गाउँकै १३ वर्षीयालाई फकाई गएको मंसिर २ गते बलात्कार गरेको आरोप लागेको छ । बलात्कारपछि नेता सुनुवारले ती बालिकालाई कसैलाई पनि नभन्नु भन्दै फकाएर घर पठाएका थिए । पछि पुनः सुनुवारले ती बालिकालाई बोलाएर बलात्कार गर्न खोजे तर बालिका उम्केर भाग्न सफल भइन् । आफूमाथि एक पटक बलात्कार गरेको र पटक पटक बलात्कारको प्रयास गरेपछि ती बालिकाले बाध्य भएर आमालाई सबै कुरा सुनाइन् ।

घटनाको विषयमा छोरीले सबै कुरा सुनाएपछि उनकी आमाले प्रहरी चौकी बाम्तीमा उजुरी गरेकी थिइन् । वाम्ती प्रहरी चौकीले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक टेकेन्द्र पौडेलको नेतृत्वमा प्रहरी परिचालन गरेको थियो । प्रहरीले सुनुवारलाई उनकै घरबाट सोमवार नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम मन्थली ल्याएको छ ।

बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका नेता सुनुवारको स्वास्थ्य परीक्षण गराई रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिए ।

samajikkhabar.com