samajikkhabar.com
 नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेल

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको झडपमा नमारिएको राष्ट्रिय मानव अधिकार आयोगले निष्कर्ष निकालेको छ । राष्ट्रिय मानव अधिकार आयोगको एउटा टोलीले घटनाको स्थलगत अध्ययन गरी कुमार पौडेललाई अनावश्यक बल प्रयोग गरी मारिएको निष्कर्ष निकालेको हो । आयोगले अनुसन्धानबाट प्राप्त प्रतिवेदनउपर छलफल गरी सरकार र विप्लव नेतृत्वको नेकपालाई विभिन्न सिफारिस गरेको छ ।

आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईद्वारा प्रकाशित प्रेस बिज्ञप्तीमा गएको असार ५ गते प्रहरी प्रधान कार्यालय, नक्सालको प्रत्यक्ष निर्देशनमा खटिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयको समन्वयमा खटिएका प्रहरीले कुमार पौडेललाई नियन्त्रणमा लिइ गोली हानी मारिएको उल्लेख छ ।

आयोगले प्रहरीले आत्मरक्षा र दोहोरो भिडन्त भनि दाबी गरे पनि दोहोरो भिडन्त र आत्मरक्षाका लागि गोली चलाएको कुरा कतैबाट पनि पुष्टि नभएको जनाएको छ । साथै प्रहरीले घटनाको मुुचुल्का उठाउँदा समेत गल्ती गरेको बताउँदै आयोगले घटनाको निष्पक्ष छानबिन नभएको जनाएको छ ।

आयोगले घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ । घटनामा प्रत्यक्ष रुपमा संलग्न तथा कमाण्डरसमेत रहेका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हवल्दारहरु विनोद साह र सत्यनारायण मिश्रलाई निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई निर्देशन दिएको छ ।

samajikkhabar.com