samajikkhabar.com
रौतहटको कुडियाबजार तनावग्रस्त, प्रहरीद्वारा हवाइ फायर

रौतहटको राजपुर–६ कुडियाबजार क्षेत्रमा स्थानीयको दुई पक्षबीच झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको छ । स्थानीयको झडप नियन्त्रण बाहिर गएपछि नियन्त्रणमा लिन दिउँसो १ बजे ३० राउण्ड हवाइफायर र २८ सेल भन्दाबढी अश्रुग्यास हानेको प्रहरीले बताएको छ । कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिएको हो । झडपका क्रममा प्रहरीको गाडीमा पनि ढुंगामुढा भएको छ ।

झडपका कारण कुडियाबजार क्षेत्र तनावग्रस्त रहेको छ । त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

कुडियाबजार क्षेत्रमा देखा परेको समस्या समाधान गर्नका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक पनि बसेको छ ।

बुधबार साँझ छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएपछि विवाद सुरु भएको थियो । श्री सप्ताह मुर्ति तोडफोड भएको र त्यस ठाउँमा मुसलमान समुदायको झण्डा देखिएपछि विवाद सुरु भएको हो । यसै विषयमा बुधबार राति पनि झडप हुँदा प्रहरीले हवाई फायर र अश्रुग्यास हानेको थियो ।

samajikkhabar.com