samajikkhabar.com

छुइ परी ( पर सरी) वा छाउ परी( छाप्रोमा बस्ने भई) आदि अर्थ हुन् छाउपडी शब्दका। सामान्य तया चलनचल्तीका शब्द हेर्दा पर सर्नु, रजस्वला हुनु, रजोवती हुनु, नछुने हुनु, बाहिर सर्नु, छुइ हुनु आदि यसका समानार्थी शब्द हुन्। विज्ञान अनुसार सामान्यतया हरेक २८ दिनको क्रममा नारीहरूको पाठेघरमा जम्मा भएको अनावश्यक रगतजन्य शारीरिक विकार प्राकृतिक रुपमा जननद्वारबाट निष्कासन हुने शरीरको आन्तरिक प्रणाली नै पर सर्नु हो। हरेक महिना हुने हुनाले यसलाई महिनावारी पनि भनिन्छ। अर्को अर्थमा यो गर्भधारण गर्ने योग्यता वा शारीरिक समागम गर्ने योग्यताको प्रमाण पनि हो। यो सनातन सृष्टि प्रक्रियाको शुरुवात हो। यो नारीत्वको प्रष्टीकरण, मातृत्वको उद्बोधन र पत्नीत्वको भरपाइ पनि हो।हाम्रो आयुर्वेद र वर्तमान मेडिकल साइन्सका अनुसार पर सर्नु कुनै ठूलो भयावहता होइन पुरुषको वीर्य वा नारी पुरुष आदि सबैको सामान्य रुपमा पिसाब बगे झैं नारी जननाङ्गबाट रगत बग्ने सामान्य प्रकृया नै रजोधर्म हो। सामान्यतया १३/१४ वर्ष देखि ५० वर्षको हाराहारी सम्म यो प्रकृया नारीहरूमा देखिन्छ।

पूर्वीय सँस्कृतिमा नारी सबैलाई देवी मानिन्छ र पूजा गरिन्छ। नारी शब्दको अर्थ नरको स्त्रीवाचक शब्द वा नारी (जसका शत्रु छैनन्) भन्ने हुन्छ। नारीलाई प्रकृति, पूज्या, शोभा र आधार मानिन्छ सनातन परम्परामा। क्षता तथा अक्षता दुबै स्वरुप पूज्य छन् नारीका हाम्रो सँस्कृतिमा। आमा, दिदी, बहिनी, छोरी, भाञ्जी मात्र होइन पत्नी र बुहारीको रुपमा पनि पूजा र सम्मान हुन्छ नारीको सनातन हिन्दू धर्ममा। यही परमपूज्य भाव प्रकट गर्न र शारीरिक, मानसिक रुपले सुरक्षित र शान्त राख्ने हेतुले पर सर्दा कन्यालाई वा नारीलाई एकान्त र सुरक्षित राख्ने वैज्ञानिक परम्पराको विकृत स्वरुप आजको छाउपडी परम्परा हो।

अझै पनि गाउँघरमा पर सर्नुलाई “सानो सुत्केरी”हुने भनिन्छ। वास्तममा पर सर्दा र सुत्केरी हुँदा हेर बिचार गरे पछि नारीहरूको स्वास्थ्य सधै समान रहन्छ भन्ने तात्पर्य हो उक्त शब्दको। महाभारतमा भीष्म पितामहले नारी धर्म बताउँदा रजोवस्थामा नारी(पत्नी)लाई अझ धेरै माया, स्याहार र ख्याल गर्नु पर्ने बताएका छन्। भागवतादि सनातन शास्त्रमा पनि पवित्रता, सौहार्द्रता, सृजनता, चतुरता, कोमलता र वैभवताहरूलाई नारीका गुणको रुपमा बताइएको छ। पूर्वीय वैदिक सनातन सँस्कृतिमा पर सर्दा बार्ने पनि चलन छ। बार्ने किन? र कसरी बार्ने? भन्ने बारेमा चिन्तन गरौं ……..

१)धार्मिक आख्यान ::– अघि राजा इन्द्रले वृत्रासुरलाई मारे। तर त्यो दैत्य ब्राह्मण वंशज भएकोले उनलाई ब्रह्महत्या लाग्यो। ब्रह्माजीले त्यो ब्रह्महत्या निकाली चार भाग लगाएर आगो, नदि, पृथ्वी र नारीको मासिक रजोधर्ममा पनि स्थित गरिदिनु भयो। जसबाट नारीहरूले बहु सन्तान युक्ता हुने वरदान पनि पाए। यसैले यो अवस्थामा भान्सा, मन्दिर आदि चिसा बस्तु हुने ठाउँ नछुने र पवित्रताको पालन गर्ने विधान ब्रह्माजीले आज्ञा गर्नु भएकोले बार्ने चलन चल्यो।

२) शारीरिक कारण::– पर सर्दा नारीहरू आधा बिमारी हुन्छन्। निरन्तर रगत बग्ने, स्तनका मुन्टा दुख्ने, तल्लो पेट दुख्ने, कसैलाई त टाउको दुख्ने, रिंगाउने र वाकवाकी लाग्ने पनि हुन्छ।यसले शारीरिक र मानसिक रुपमा लखतरान परेका हुनाले आरामको आवश्यकता पनि पर्दछ। त्यसैले नछोई अछट्ट बसे पछि कामै गर्न पर्दैन र आराम गर्न पनि पाइन्छ। यसैले बार्ने चलन चल्यो।

३)यौनिकताको कारण::– नारी आफू रजमय भए पनि पति सामान्य नै रहने हुनाले शारीरिक समागमको भार अझ थपिन सक्ने, यौन समागमको पवित्रतामा आँच आउन सक्ने र यो समयमा गर्भ त बस्दैन तर बसि हाले कुलघ्न वा अपाङ्ग सन्तान जन्मिने शास्त्र वाक्य भएकोले पनि नछुने बार्ने चलन चलेको हो।

४) व्यवहारिक कारण::– पर सर्दा नारीको शरीरबाट रगत बग्ने, एक किसिमको तम्तमाइलो गन्ध निस्कने आदि कारणले खासै सफा शरीर नहुने र सफा शरीर नहुनाले मन पनि धमिलिने अनि मन अनुसार विचार हुने हुनाले यो समयमा खाना बनाउन आदिमा वर्जित गरिएको हो।

५) पूजा आराधनामा पनि जननाशौच, मृताशौच र रजोवस्थामा बार्नु भन्ने प्रमाण छ। यति सम्म कि पति पत्नीकै दक्षिणाङ्ग भएकोले आफ्नी पत्नी पर सरेको समयमा ब्राह्मणले दान नलिनु, यज्ञ नगराउनु र साधकहरूले पनि यज्ञादि नगर्नु भनी पुरुषलाई समेत निषेध गरेको छ। यसैले पनि बार्ने चलन चलेको हो।

अर्थात सनातन वैदिक शास्त्रमा र अन्यान्य पौरस्त्य धर्म पद्धति ( वौद्ध,जैन,शिखादि)हरूमा पर सर्दा नछुन र बार्न अवश्य भनेको छ र बार्नु पर्छ पनि। तीजको ऋषिपञ्चमी व्रत लिने र लाख बत्ती आदि जलाउनुको मुख्य कारण नै पर सर्दा जान र अन्जानमा भएको छुवाछुतको दोष हटाउनु हो। तर दु: ख पाउन, बारीका छेउँमा गएर बस्न, अरूका घरमा बस्न जान, गोठमा र छाप्रामा गएर बस्न भनेको छैन। यो समाजमा चलेको रुढी भएकोले वैदिक सनातन धर्म सँग कुनै सम्बन्ध छैन। मात्र पूजा कोठा,भान्सा आदिमा स्पर्श नगरे भयो। पर सर्दा छोएका रुखमा फलका बतिला झर्ने र कुहुने साथै देवता चढेका व्यक्तिलाई ती महिलाले छुँदा काम्ने अनि माफी मागेपछि शान्त हुने प्रकृया त देखेकै हो। मैले धेरै ठाउँमा प्रयोग गरें। तर सत्य सावित भयो। यसमा विज्ञानले अझै रिसर्च गर्ला।

केही समय पछि फेरि आज छाउपडीमा महिला मरेको सुन्नमा आयो सुदूर पश्चिममा। सामाजिक संजालका भित्तामा हिन्दूधर्मको बदख्वाइ गरियो। तर कसैले पनि सोंचेन कि धर्मशास्त्रमा के छ प्रमाण भनेर । पर सर्दा मजाले बाक्लो डनलप ओछ्याएर, बाक्लो कपासे सिरक ओढेर एसी, कुलर मजा सँग चलाएर सुत्न पाइन्छ। अझ पुगे त घरको एउटा कोठा नै छुट्याउनु ठीक। तातो र तागतिलो आहारा खान, शान्त रहन र पर सर्दा आराम गर्न भनेको छ शास्त्रले। दु: ख पाउ, नखाउ, जंगलमा जाउ भनेर कतै भनेको छैन।

सुदुरपश्चिममा मात्र हैन हाम्रै नेवारी परम्परामा समेत गुफा राख्ने आदि चलन छन्। तर कडा प्रवन्ध गरिएको हुन्छ। गुफाकालमा यस्तो दु:खद घटना घटेको खबर सुनिंदैन। हाम्रै बाहुन वर्गमा पनि शुरुमा पर सर्दा नर र सूर्यको मुख नहेर्ने चलन छ। काल गति बाहेक यस्तो अप्रिय समाचार सुनिंद‌ैन। मात्रै सुदूरपश्चिममा यस्ता घटना घट्नुको कारण के भनेर म आज करिव दुई घण्टा घोत्लिएँ। अविवाहित मात्र नभएर विवाहित पनि किन मर्छन्? खाने कुरा, बस्ने ठाउँ आदिको प्रबन्ध त हुन्छ फेरि ! या डरले या यौन बलात्कारमा परेर अत्तालिएर वा यौन दुराचारकै कारणले यस्ता घटना घट्ने ठम्याइ छ मेरो। यसै त नारीहरूको कोमलो दिल अझ पर सर्दा झनै कमजोर मनस्थिति; यस्तोमा अत्तालिएर वा घर भन्दा पर एक्लै युवती अवस्थाकी नारी राख्नाले पक्कै पनि दुष्टहृदयवालाहरूको विषालु आक्रमणकै कारण यसो हुन सक्छ। किनकि लगभग उस्तै नेवारी र बाहुने परम्परामा यस्तो घटना सुनिएको छैन। कारण हो यता उचित खान, पानको प्रबन्ध सहित उचित सुरक्षाको पनि व्यवस्था हुन्छ। भरसक ग्यासगिजर युक्त एट्याच रुम वा त्यस्तै बासको व्यवस्था हुन्छ तर सुदूर पश्चिममा बारीका ढिकमा एक्लै एउटा सामान्य कच्ची छाप्रोमा युवती नारीलाई छोडिन्छ।

अब के गर्ने ?
क) छाउपडी प्रथासँग सनातन हिन्दूत्वको कुनै पनि रति भर पनि सम्बन्ध छैन। मात्र भान्सा,पूजास्थल र व्रतबन्ध गरेका पुरुषहरूलाई नछुने व्यवस्था छ। त्यसैले अब पर सरेका नारीहरूलाई बारीमा, खर्यानमा, एक्लै र अरूको घरमा राख्ने र पठाउने चलन बन्द गरी घरमैं उचित व्यवस्था सहित उनको स्वास्थ्य र मनोविज्ञानमा असर नपर्ने गरी राख्ने चलन शुरु गरौं।
ख) सुदूर पश्चिमका सबै छाउपडी बस्ने टहरा भत्काउने अभियान चलाउँ र अब अछट्ट बसे पनि अाफ्नो घर भित्रै बस्ने परम्पराको शुरुवात गरौं।
ग) पर सर्ने क्रमलाई गलत नजरले नहेरी पवित्र नारीत्वको उद्घाटनको रुपमा हेर्न र सम्मान गर्न थालौं।

अन्त्यमा देवस्थान, पाकस्थानादि केही स्थानमा र यज्ञोपवितधारी व्यक्तिलाई नछुन भन्ने शास्त्रीय आज्ञा भएको ती आज्ञाहरू सबै दृष्टिबाट उचित नै रहेको कुरा मैले बताएँ।

अबपर सर्दा बार्नै पर्ने कि नपर्ने?
पर सरेको अवस्थामा यौन समागम गर्दा ठीक कि बेठीक?

आदि विषयमा ठेट वैज्ञानिक कारण नासा आदिले पत्ता लगाउलान्। त्यसमा मेरो गति छैन। म आफू हिन्दूधर्मको पण्डित वा धर्मगुरू भएकोले यति मात्र अनुरोध गर्छु —“

छाउपडी प्रथा पूर्ण रुपमा अन्त्य गरौं। सम्पूर्ण छाउपडी बस्ने छाप्रा र टहरा भत्काउने अभियान थालौं। पर सर्ने कुरा नारीत्वको पूर्णताको प्रमाण भएकोले रजोधर्म प्रति हेय भन्दा पनि सम्मान भाव राखौं। साना नवयुवतीहरू पर सर्दा अरूको घरमा बार्न जाँदा यौन दुराचारमा परेका केही घटनाहरूको साक्षी म पनि छु। त्यसैले अरूका घरमा छोरी, बहिनी आदिलाई ठ्याक्कै नपठाउँ। ठूलो उमेरका नारीहरू पनि माइत बाहेक अन्त जाँदा सतर्क भएर, चुकुल लगाएर सुत्ने अनि हिंड्दा उचित समय र गाडीको सीट अादि ख्याल गरेर हिडौं। आफ्नो दाइ/भाइ, आफ्नो बुवा र आफ्नो पति बाहेक अन्य पुरुषहरूमा नातै परे पनि खासै भर नपरौं। घरका पुरुषहरूले आफ्ना महिला नातेदार र सदस्यहरूको हिन्दू सँस्कारानुरुप भरण, पोषण, ख्याल र संरक्षण गर्न नचुकौं किनकि “पाति रक्षति इति पति” अर्थात् रक्षा गर्ने हुनाले पति भइएको हो। जीवनमा एक पल्ट मात्रै पनि आफ्नी मुटुकी टुक्रा स्वरुपा प्यारी पत्नी दु:खी भई वा रोई अथवा अन्य कसैबाट अपमानवोध गरी भने आफू पतिको पदबाट पतन भइने कुरालाई आत्मासात गरौं। पुगे सम्म घर भएकाहरूले घरमा एउटा कोठा पर सर्दा सुत्नलाई छुट्याउँ। जहाँ नावालक बाहेक पुरुषको प्रवेश बन्दै गरे पनि हुन्छ। प्राचीनकालमा पनि यही अन्तपुर राख्ने चलन थियो। नपुग्ने वा भाडामा बस्नेहरूले पनि भरसक सुखपूर्वक पवित्र बस्ने गरौं।पर सर्दा पति, दाजुभाइ वा बुवाले आफ्ना घरका नारी सदस्यलाई ख्याल गरौं, माया गरौं। पोषिलो र रसिलो खुबाउँ। लोग्नेहरू पनि महाअल्छी नबनी महिनाभरि आफूलाई पत्नीले खान दिन्छिन् भने कम से कम चार दिन त श्रीमतिलाई काममा सहयोग गरौं। सबै सुखसाथ रहनुस्, तातो पानीले नुहाउनुस्, ए सी चलाएर गद्दामा लम्पसार सुत्नुस्, आराम गरी हरेक महिनावारीलाई मेडिटेसनको रुपमा लिई रिफ्रेस हुनुहोस्। मात्र भान्सा र देवस्थानहरू अनि ब्रह्मव्रती पुरुष र व्रतनिष्ठा महिलाहरूको पनि स्पर्शबाट जोगिनुहोस्। सबै वैदिक हिन्दू नर-नारीहरूमा यही छ मेरो शास्त्र सम्मत निवेदन। साथै मैले म जस्तै पण्डित, साधु र धार्मिक अभियन्ताहरूलाई यी कुरा आफ्नो अभियान वा प्रवचनमा खुलेर र खोलेर बताइ दिनुहुन निवेदन गर्दछु। यौन सृष्टिको मूल हो। मूल सफा भए मात्र नदि सफा हुने भएकोले यौनजन्य विषयमा धार्मिक र सामाजिक रुपले गहन अध्ययन वा मनन गरी आफ्नो प्रवचनमा ठाउँ दिनुहुन समेत सबै गुरूजनहरूमा निवेदन गर्दछु।

– वाचन सम्राट पं. भीमकान्त पन्थी ” भागवतदास”

तपाईंहरुको पनि कुनै विषय विशेष आफ्ना विचार प्रकाशन गर्न इच्छा भएमा हामीलाई m.me/singhadurbardaily मा मेसेज अथवा singhadurbardaily@gmail.com मा पठाउन सक्नुहुन्छ ।

यो पोस्टको बारेमा केही टिप्पणी भएमा कमेन्ट गर्नुहोला !

samajikkhabar.com