samajikkhabar.com
भीरबाट खसालेर सैँतिस गाईको हत्या

विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखमा पाल्न पठाउने बहानामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भीरबाट खसालेर सैँतिस गाईको हत्या एवम् ८६ वटा गाई घाइते हुने गरि गरिएको गौहत्या काण्डको घोर भत्सना गरेको छ ।

समितिका महासचिव रोसन जङ्ग बस्नेतको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘सनातनदेखि हिन्दू धर्मावलम्वीहरुले माता श्रीलक्ष्मीको प्रतिक समेत मान्दै गौ–माताको दुध मात्र नभएर गौ–मुत्रलाई समेत पवित्र मान्दै आएका छौं । यसका अलावा राष्ट्रिय जनावरसमेत रहेकी गौ–माताको यस प्रकारले हत्या हुनुलाई सामान्य रुपमा लिन सकिँदैन् ।’

कार्यक्रममा बैंक्टेश्वर पीठाधिश पद्म धराचार्यले गौ–संरक्षणमा लाग्नको लागि जोड दिनुभएको छ । उहाँले गौ–माताको संरक्षण गर्न नसके वर्तमान सरकार धार्मिक रुपमा निकम्मा सावित हुने दाबी गर्नुभयो । हालै भएको गौ–हत्याको बारेमा पनि उहाँले भत्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो ।

त्यस्तै, राष्ट्रिय धर्म जागरण नेपालका संयोजक एवम् पूर्व सांसद शंकरप्रसाद पाण्डेले सुर्खेतमा भएको गौ–हत्यामा नेपालगञ्ज उपमहानगरपालिका र सरकारको मिलोमतोमा भएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयोे, ‘म आफू पनि हिजोमात्रै गौ–हत्या भएको घट्नास्थल पुगेर काठमाडौं फर्किएको छु, यसमा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकार दुवै मिलेको हाम्रो ठम्याई छ ।’ उहाँका अनुसार सीधै ८ वटा ट्रिपर तथा ट्रककमा गाईहरुलाई कोचेर भीरमा लगी फालिएको प्रष्ट देखिन्छ ।

जगतगुरु बालसन्त आश्रमका प्रवक्ता विक्रमसिंह धामीले गौमाताको हत्या कुनै न कुनै मानेमा हुँदै आइरहेको बताउँदै सुदुर पश्चिमका जंगलमा गाई छोड्ने र गिद्धहरुलाई खुवाउने गलत काम भैरहेको पनि सुनाउनुभयो । उहाँले गौमाता हत्याका दोषीलाई कारबाहीको साथै पशुपतिनाथ मन्दिर परिसरमा हुने पशुपति बाग्मती गंगा आरतीपूर्व राष्ट्रिय गान अनिवार्य बजाउने कार्यपनि गलत रहेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितिका केन्द्रिय अध्यक्ष सागर थापाले गौहत्यामा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकारको प्रत्यक्ष संलग्नता देखिएको गम्भीर आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘यो घट्ना नियोजित हो । यसको सत्य, तथ्य पत्ता लगाउनको लागि पनि गम्भिर र निस्पक्ष छानबिन हुनुपर्छ ।’

थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यो घट्नाका दोषीलाई पक्राउ गरि कानूनी कठघरामा उभ्याएर आफ्नो विगतको पापहरुसमेत पखाल्नुपर्ने भन्दै सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘गृहमन्त्रीज्यूमाथि अहिले विगतका पाप पखाल्ने अवसर छ। विगतमा उहाँले निर्मला पन्तको बलात्कारपछिको हत्यारालाई पनि पत्ता लगाउन सक्नुभएन, अहिले पत्रकार सालिकराम पुडासैनीको आत्महत्या काण्डमा पनि उहाँ चुक्नुभयो, त्यसैले यी सबै पाप पखाल्नको लागि पनि उहाँले गौहत्यामा संलग्न दोषीमाथि कारबाही गरेर देखाउनुपर्छ ।’

samajikkhabar.com