samajikkhabar.com
Nepal Airlines
Nepal Airlines

नेपाल एयरलाइन्सले आन्तरिक उडानको लागि धमाधम परिक्षण उडानहरु गर्न थालेको छ । नेपाल एयरलाइन्सले आन्तरिक विमानस्थलहरुमा चिनियाँ जहाज वाई १२ इ जहाजमार्फत धमाधम परीक्षण उडान शुरु गरेको हो । चाडबाड नजिकिएसँगै निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउने भन्दै परीक्षण उडानलाई तिब्रता दिएको हो ।

आन्तरिक उडान सुदृढ बनाउन र पर्यटन वर्ष २०२० का लागि पनि प्रभावकारी सेवादिने योजना रहेको निगमले उल्लेख गरेको छ । निगमले १८ साउनमा चौरजहारी विमानस्थलमा सानो जहाजबाट परीक्षण उडान सम्पन्न गर्‍यो। सोही दिन ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा समेत सफल परीक्षण उडान गरिएको निगमले बताएको छ ।

२० साउनमा भोजपुर, २१ र २२ साउनमा बाजुरा र तुम्लिङटारमा पनि ‘वाई १२ ई’ जहाजबाट नै परीक्षण उडानको तयारी रहेको निगमले उल्लेख गरेको छ । यो १७ सीट क्षमताको जहाज हो ।अधिकतम क्षेत्रमा आन्तरिक उडान गर्ने व्यवस्था गरी निगमले पर्यटन प्रर्वद्धनमा थप योगदान पुर्‍याउने लक्ष्य लिएको निगमले जानकारी दिएको छ ।

निगमसँग ४ वटा वाई १२ इ जहाज छन् । तर, पाइलट अभाव र प्रभावकारी व्यवस्थापनको अभावले यी जहाज थन्किएर बसेका थिए । निगमले शुक्रबार मात्र यी जहाज उडाउन ८ जना पाइलट भर्नाको प्रक्रिया थालेको छ ।

samajikkhabar.com