samajikkhabar.com

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठक भोलि (शुक्रबार) का लागि बोलाइएको छ । साधारणसभाको मिति र समितिले बुझाएको चुनावको मोडालिटीबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो ।

गत चैतमा हुनुपर्ने साधारणसभा कोभिड १९ का कारण पटक-पटक सर्दै आएको छ । साधारणसभाको अनिश्चितता हटाउन महासंघले चुनावको मोडालिटीबारे अध्ययन गरेर सुझाव दिन गठन गरेको समितिले प्रतिवेदन दिइसकेको छ । सोही प्रतिवेदनमाथि छलफल गरेर साधारणसभा गर्न सरकारको अनुमति माग गरिने अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

समितिले चुनावी प्रयोजनका लागि तीनवटा मोडालिटी महासंघलाई दिएको छ । वार्षिक साधारणसभाको उद्घाटन, बन्दसत्र र समापन भर्चुअलमार्फत गर्न सुझाइएको छ । चुनावको हकमा भने स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर सबै क्षेत्र (जिल्ला/नगर, वस्तुगत, दुईराष्ट्रिय, एसोसिएट) को प्रत्यक्ष रुपमा काठमाडौंमा, जिल्ला/नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र वस्तुगत, एसोसिएटको काठमाडौंमा र सबै क्षेत्रको कम्प्युटराइज/ई-भोटिङमार्फत गर्न सकिने तीनवटा मोडालिटी प्रस्ताव गरिएको छ ।

समितिले अनलाइन भोटिङ गर्न सकिने सुझाव दिएपछि केही पदाधिकारी भने अनलाइन भोटिङको विपक्षमा छन् । यस्तै ६० प्रतिशत बढी जिल्ला/नगरका अध्यक्षहरु पनि अनलाइन भोटिङको विपक्षमा छन् । जिल्ला/नगरका अध्यक्षहरु सामाजिक दूरी एवं स्वास्थ्य सुरक्षाको पूर्ण पालना गरेर काठमाडौंमै चुनाव गर्नुपर्ने पक्षमा रहेको एक सदस्यले बताए ।

अनलाइन भोटिङसम्बन्धी व्यवस्था विधानमै समेत उल्लेख नहुँदा अनलाइनको सम्भावना पनि ज्यादै न्यून रहेको एक पदाधिकारीले बताएका थिए ।

महासंघको पदाधिकारी बैठकले सकेसम्म असोजमसान्तभित्र वा दसैंलगत्तै साधारणसभा प्रस्ताव गर्ने प्रस्ताव लैजानेछ । मिति र मोडालिटीबारे छलफल गरेर अनुमतिका लागि सरकारसँग समेत छलफल गर्ने तयारी महासंघले गरेको छ ।

samajikkhabar.com