samajikkhabar.com

काठमाडौं : साताको पहिलो दिने सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार प्रि-ओपानिङ सेसनमा नै ७ अंकभन्दा बढीले बढेको नेप्से १.०९ प्रतिशतले बढेर बन्द भएको छ । नेप्सेमा भएको वृद्धिसँगै कारोबार रकममा पनि उत्साह देखिएको छ । 

आइतबार १६.५६ अंकले बढेर १५३७.२५ अंकमा पुगेको बजारमा करिब साढे ३ अर्बको कारोबार भएको छ । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिँदा करिब ३ घण्टा अवरुद्ध भएको बजारमा निर्धारित समयभन्दा सवा २ घण्टा ढिलोसम्म कारोबार भएको थियो । 

टीएमएसमा समस्या देखिँदा ११ बजेर २५ मिनेटबाट रोकिएको सेयर कारोबार २ बजेर १५ मिनेटमा सुचारु भएको थियो भने आजको कारोबार ५ बजेर १५ मिनेटमा बन्द भएको हो । आज नेप्सेमा १९१ कम्पनीको ७१ लाख ७९ हजार ००८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३७ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

आर्थिक गतिविधि ठप्प हुँदा पनि पछिल्लो समय सेयर बजार भने लगातार बढिरहेको छ । पछिल्लो ३ सातामा मात्रै नेप्से ११० अंकभन्दा बढीले बढेको छ । आज थप १६ अंकले बढ्दा नेप्सेमा १२६ अंकभन्दा बढीका वृद्धि देखिन्छ । कोभिड १९ को कारण लकडाउन तथा निषेधाज्ञा जस्ता कारणले गर्दा आर्थिक गतिविधि ठप्प अवस्थामा रहेको छ । तर अर्थतन्त्रको ऐनाको रुपमा रहेको सेयर बजार भने लगातार रुपमा बढिरहेको छ । 

कोभिड १९ ले गर्दा अन्य व्यापार व्यवसाय ठप्प हुनुको साथै  बैंकिङ प्रणालीमा पनि पर्याप्त तरलता रहेको छ । विगतका वर्षमा आर्थिक वर्षको पहिलो त्रैमासमा वर्षभरी लगानी हुने कुल कर्जाको ३०-४० प्रतिशत कर्जा बैंकअरुले लगानी गर्ने गरेका थिए । तर चालु आर्थिक वर्षमा पहिलो त्रैमासको २ महिना बितिसक्न लाग्दा पनि असार मसान्तमा रहेको कुल कर्जा बराबर कर्जा पुग्‍न नसकेको बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् । 

बैंकहरुले व्यापार व्यवसायमा कर्जाको माग नहुँदा सेयर लगानीकर्तालाई कर्जा लिन बोलाइरहेका छन् । अर्कातर्फ व्यापार व्यवासय ठप्प हुँदा व्यापारीहरुले पनि लकगानीका विकल्पको रुपमा सेयर बजारमा लगानी गर्दा परिसूचकसँगै कारोबार रकमा पनि उत्साह देखिएको जानकारहरु बताउँछन् । 

पछिल्लो समय बैंकिङ समूहको सूचक स्थिर जस्तै देखिए पनि बिमा तथा हाइड्रनेपावरप्रति लगानीकर्ताकको आकर्षण बढेको छ । नेपालको पुँजीबजारको अधिकांश हिस्सा बिमा तथा बैंक वित्तीय क्षेत्रले ओगटेको छ । कोभिड १९ को कारण निजी क्षेत्र समस्यामा पर्दा बैंकहरुको कर्जा असुली हुन सकेको छैन जसले गर्दा बैंकको लाभांश क्षमतामा संकुचन आउने देखिन्छ । तर बैंकको तुलनमा बिमा कम प्रभाव पर्नु तथा कर्जाको ब्याजदर घट्दा हाइड्रोपावरको मुनाफामा भएको वृद्धिले गर्दा लगानीकर्ताको रोजाइ बिमा र हाइड्रोपावर रहेको देखिन्छ । 

आइतबार आज पनि निर्जीवन बिमा समूहको सुचक ४.०५ प्रतिशत, जीवन बिमा समूहको सूचक २.९८ प्रतिशत र हाइड्रोपावर समूहको सूचक ३.६४ प्रतिशतले बढेको छ । वित्त कम्पनीको समूहको सूचक नेगेटिभ हुँदा बैंकिङ समूहको सूचक ०.४८ प्रतिशत र विकास बैंक समूहको सूचक ०.०८ प्रतिशतले बढेको छ । वित्त कम्पनीसँगै व्यापार र म्युचुअल फन्ड समूहको सूचक भने नेगेटिभ भएको छ । 

कारोबार रकममा पनि बैंकिङ समूहबाहेकका कम्पनीले नै नेतृत्व गरेको छ । आइतबार नेपाल पुनर्बिमा कम्पनीले करोकार रकमको नेतृत्व गर्दा कम्पनीको २४ करोड २० लाख ३२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै  नेपाल लाइफ, नागरिक लगानी कोष, शिवम् सिमेन्ट र प्रिमीयर इन्स्योरेनसले कारोबारमा नेपाल पुनर्बिमालाई पछ्याएका छन् । 

आइतबार कारोबारमा आएका मध्ये ५ वटा कम्पनीको सेयर सर्किट मुल्यको नजिक कारोबार भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्स, एनआरएन लघुवित्त, एनआरएन इन्फ्रास्टक्चर, राधि विद्युत कम्पनी र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्यमा पाजेटिभ सर्किट लागेको छ । 

samajikkhabar.com