samajikkhabar.com

काठमाण्डौ : नेप्से परिसूचक मंगलबार १४ दशमलव ३७ अङ्कले बढेर १५ सय ९ दशमलव ६७ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । 

उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहबाहेक मङ्लबार सबै समूहको उप-सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उप-सूचक १८९ दशमलव ३ अङ्कले सुधार भएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि मंगलबार २ दशमलव ६१ अङ्कले बढेको छ । मंगलबार दिनभरको कारोबारमा ३ अर्ब ८५ लाख १६ हजार रुपैयाँ बराबरका ८२ लाख कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम साेमबारकोभन्दा धेरै हो । साेमबार २ अर्ब १५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंगलबार सबैभन्दा धेरै ४० करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै एनएमबी बैंक लिमिटेडको २५ करोड, एनआईसी एसिया बैंकको १८ करोड, हिमालय डिष्टिलरी लिमिटेडको १४ करोड, नबिल बैंक लिमिटेडको १२ करोड र एभरेष्ट बैंक लिमिटेडको १० करोडभन्दा धेरैको शेयर किनबेच भएको छ । 

बजार सुधार भएको दिन मंगलबार मन्जुश्री फाइनान्स लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र स्पर्ष लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । 

यसैबीच हरेक दिन दिउँसो ३ बजे कारोबार बन्द हुने भएको भए पनि मंगलबार भने शेयर बजार ३ बजेर ५५ मिनेटसम्म खुलेको थियो । सदस्य दलालको डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि कारोबार दिउँसो १२ बजेर ४१ मिनेटदेखि १ बजेर ३५ मिनेटसम्म रोकिएको थियो । 

निर्धारित समयमा रोकिएको समय थप गरेर शेयर बजारमा कारोबार गराईएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

samajikkhabar.com