samajikkhabar.com

काठमाडौँ, साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार ओरालो लागेको छ। सुरुवाती दुई दिन बढेको सेयरबजार परिसूचक नेप्से मंगलबार ७.४८ अंकले घटेको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि २ अंकले झरेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १२६३.३८ विन्दुमा रोकिएर कारोबार बन्द भएको छ। कुल १ सय ८३ कम्पनीको कारोबार भएको दिन ३७ लाख ६६ हजार ९ सय ८२ कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ११ हजार ३ सय १० पटकको खरिदबिक्रीपछि सेयरबजारमा आज १ अर्ब २ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। आज १२ समूहको कारोबार भएकामा ऊर्जा, निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फन्डको सूचक घटेको छ भने बाँकी समूहको सूचक बढेको छ।

आज प्रभु बैंक प्रोमोटर सेयरको ११ करोडको सेयर खरिद बिक्री भएको छ। त्यस्तै, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ७ करोड २२ लाखको, एनआईसी एसिया बैंकको २ करोड ८६ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८१ लाखको, हिमालयन डिस्टिलरीको २ करोड ४९ लाखको उच्च कारोबार भएको छ।

कमाइका दृष्टिले आज दुई कम्पनीले सर्किट ब्रेक गरेका छन्। रैराङ, हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेनको सेयर मूल्य १० प्रतिशतले बढेपछि क्रमशः कम्पनीका लगानीकर्ताले १० र २ सय ११ रुपैयाँ कमाएका छन्। यसबाहेक मञ्जुश्री फाइनान्सको सेयर मूल्य पनि ९.०३ प्रतिशतले बढेको छ। कम्पनीका लगानीकर्ताले १४ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै, नेपाल फाइनान्सको ७.२६ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको ६.७४ प्रतिशतले सेयर मूल्य बढेको छ।

गुमाउने कम्पनीमा आज दिव्येश्वरी हाइड्रोपावर अगाडि छ। कम्पनीको सेयर मूल्य ८.६२ प्रतिशतले घट्दा लगानीकर्ताले ५ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्। यसबाहेक वरुण हाइड्रोपावर कम्पनी (६.३२ प्रतिशत), सप्तकोशी डेभलपमेन्ट बैंक (६.१२ प्रतिशत), युनाइटेड मोदी हाइड्रोपावर (५.३६ प्रतिशत)ले पनि गुमाएका छन्।

samajikkhabar.com