samajikkhabar.com
नेपाल सरकार

मासिक १० हजार रुपैयाँ तलब नपाउने मजदुरबाट जबर्जस्ती एक प्रतिशत कर उठाउने सरकारले कूटनीतिक नियोगमा लाखौं रुपैयाँ बुझ्ने कर्मचारीलाई भने कर मिनाहा दिने तयारी गरेको छ। आयकर ऐनले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई दिने वैदेशिक भत्तामा ७५ प्रतिशत छुट र बाँकी २५ प्रतिशतमा पारिश्रमिक कर लाग्ने व्यवस्था गरेको छ। तर कानुनले तोके पनि १० वर्षदेखि नियोगमा काम गर्ने कर्मचारीले पारिश्रमिक कर तिरेका छैनन्। अहिले यस्तो करको रकम १७ करोड ८४ लाख रुपैयाँ पुगेको छ। परराष्ट्र मन्त्रालयले यही करबापतको रकम मिनाहा गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेको छ।

विगत १० वर्षमा धेरैपटक कर मिनाहा गर्न चलखेल भए पनि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीका कारण परराष्ट्रको प्रयास सफल हुन सकेको छैन। अहिले फेरि मिनाहाका लागि चलखेल सुरु भएको छ। अहिले प्रदीपकुमार ज्ञवाली परराष्ट्रमन्त्री छन्। वित्तीय अनुशासनमा अहिलेसम्म विवादमा नआएका ज्ञवालीकै पालामा कर मिनाहाको चलखेल फेरि सुरु भएको हो।

परराष्ट्रका एक अधिकारीका अनुसार विभिन्न नियोगमा कार्यरत कर्मचारीको कर बक्यौता रहेको करिब १८ करोड रुपैयाँ मिनाहा गर्न प्रस्ताव तयार पारिएको छ। यो १० वर्षदेखिको रकम हो। अहिले यो प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ। अर्थले सहमति दिए मन्त्रिपरिषदमा लगिनेछ।

कानुन ल्याउनु अघि नै व्यापक छलफल गरेर वैदेशिक भत्तामा २५ प्रतिशत कर लगाउने व्यवस्था गरिएको हो। अहिले आएर कर मिनाहा गराउन खोज्नु गलत र कानुनविपरीत हुन्छ। पूर्वअर्थसचिव, अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रामशरण पुडासैनीले कर मिनाहाको उक्त प्रस्ताव अर्थमा आएको जानकारी दिए। ‘परराष्ट्रबाट मिनाहा गर्न प्रस्ताव आएको छ,’ पुडासैनीले बुधबार सिंहदरबार डेलिसँग भने, ‘अहिले त्यो फाइल राजस्व महाशाखामा छ। छलफल हुन बाँकी छ।’ विगतमा मिनाहाका लागि आएका यस्तै प्रस्तावलाई अर्थले सहमति दिएको थिएन।

परराष्ट्रले तयार पारेको प्रस्तावमा १० वर्षको वैदेशिक भत्तामा लाग्ने पारिश्रमिक करको दायित्वबाट उन्मुक्ति दिन भनिएको छ। कूटनीतिक नियोगमा काम गर्ने कर्मचारीले १० वर्षदेखि यस्तो कर कट्टी नगरी सबै भत्ता बुझेका छन्। महालेखा परीक्षकको प्रतिवेदनले कर कट्टी नगरेकामा प्रत्येक वर्ष बेरुजु निकाल्दै आएको छ। महालेखाले यस्तो कर असुल गर्न भने पनि परराष्ट्रका अधिकारी यसलाई मिनाहा गर्ने र छुटको व्यवस्था गर्नेतर्फ लाग्दै आएका छन्।

परराष्ट्रले विभिन्न मुलुकमा रहेका ३७ नियोगमा कार्यरत कर्मचारीको आर्थिक वर्ष २०६४/६५ देखि २०७३/७४ सम्मको कर बक्यौताबापत रहेको १७ करोड ८४ लाख रुपैयाँ मिनाहा गर्न खोजेको छ। यो अवधिमा नियोगमा कार्यरत राजदूतदेखि सामान्य कर्मचारीलेसमेत कर तिरेका छैनन्।

पारिश्रमिकमा लाग्ने कर मिनाहा दिँदा कर नतिर्नेलाई प्रोत्साहन हुने र भविष्यमा कर नतिर्ने प्रवृत्तिको विकास हुने अर्थ मन्त्रालयका पूर्वसचिव बताउँछन्। ‘कूटनीतिक नियोगहरूमा बसेर राज्यलाई योगदान गर्नुपर्ने दायित्व बोकेका व्यक्तिहरु आयकर छलीमा संलग्न हुनु बिडम्बना हो,’ अर्थ मन्त्रालयका एक पूर्वसचिवले भने। कानुनमा नै व्यवस्था भएको विषयलाई मन्त्रिपरिषद्ले निर्णय गरी मिनाहा दिए विधिको शासन र वित्तीय अनुशासन कायम गर्न सकस हुने उनले बताए।

पूर्वअर्थसचिवले कानुन ल्याउनुअघि नै व्यापक छलफल गरेर वैदेशिक भत्तामा २५ प्रतिशत कर लगाउने व्यवस्था गरिएको बताए। उनले अहिले आएर कर मिनाहा गराउन खोज्नु गलत र कानुनविपरीत भएको टिप्पणी गरे।

विभिन्न कूटनीतिक नियोगका कर्मचारीले तिर्न बाँकी कर :

नियोगकर बक्यौता रकम
राजदूतावास, वासिङ्टन डिसी७६,९६,६४२
राजदूतावास, लन्डन ५६,८२,३१८
राजदूतावास, इस्लामावाद४७,०२,४४९
राजदूतावास कायरो २४,९६,०४६
राजदूतावास, कुवेत३४,६५,९००
राजदूतावास, कोलम्बो२९,००,८१९
राजदूतावास, क्यानडा४०,३०,१८१
राजदूतावास, क्यानबेरा ५२,०२,९३०
राजदूतावा, क्वालालाम्पुर६२,३६,१३३
राजदूतावास, टोकियो ७४,२२,६७५
राजदूतावास, ढाका ४३,११,८२२
राजदूतावास, तेलअबिब४५,२४,८५७
राजदूतावास, दक्षिण अफ्रिका३१,११,७३३
राजदूतावास, दोहा४२,४८,९५०
राजदूतावास, नयाँ दिल्ली १,३०,२८,४६५
राजदूतावास, पेरिस ३९,७२,३४१
राजदूतावास, बेइजिङ८२,५६,८१६
राजदूतावास, बैंकक ५३,१४,२८८
राजदूतावास, ब्रसेल्स५४,५९,९५३
राजदूतावास, ब्राजिल२८,४९,००४
राजदूतावास, मनामा५,५६,४६८
राजदूतावास, मस्कट९,१४,०२६
राजदूतावास, मस्को ३७,०६,७८२
राजदूतावास, म्यान्मार२९,०३,१२१
राजदूतावास, रियाद७०,६३,१९५
राजदूतावास, सिउल ४९,८२,६६०
राजदूतावास, अवुधाबी६०,०२,२९०
राजदूतावास, कोपनहेगन५८,२२,५६१
राजदूतावास, बर्लिन४०,४१,६७१
स्थायी नियोग, जेनेभा९३,५७,३२१
स्थायी नियोग, न्युयोर्क१,१७,५२,७४२
स्थायी नियोग, भियना१,३७,८८०
महावाणिज्य दूतावास, ल्हासा२९,९२,५१८
महावाणिज्य दूतावास, कोलकाता५२,९१,०७३
महावाणिज्य दूतावास, हङकङ३६,२३,३७४
महावाणिज्य दूतावास, न्युयोर्क७,४८,४८३
महावाणिज्य दूतावास, जेद्दा६,४९,८४८
samajikkhabar.com