samajikkhabar.com

गत आर्थिक वर्षमा विद्युत चुहावटलाई १५.३२ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ । आर्थिक वर्ष ०७४/७५मा २०.४५ प्रतिशत रहेको चुहावटलाई गत आवमा ५.१३ प्रतिशत विन्दुलाई घटाएर १५.३२ प्रतिशतमा झारिएको हो । ०७२/७३मा कुल चुहावट २५.७८ प्रतिशत रहेकोमा ३ वर्ष भित्रमा १०.४६ प्रतिशतले कमी आएको हो ।

nepal electricity

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सर्फमर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा इतिहासमै कम बनाउन सफल भएको बताए ।

ऊर्जा मन्त्रीको नेतृत्वमा संचालकहरु, प्रशासन, सुरक्षा निकाय, कर्मचारी लगायत सबैको सामूहिक प्रयासबाट चुहावट नियन्त्रणमा उल्लेख्य उपलब्धि हासिल भएको उनले बताए ।

‘वितरणतर्फको चुहावट ११ प्रतिशत र प्राविधिकतर्फको करिब ४ प्रतिशत चुहावट छ, विद्युत चुहावटमा दक्षिण एसियाको मापदण्डमा पुगेका छौं, अब धेरै प्राविधिक चुहावटमा ध्यान केन्द्रीत गर्नुपर्ने छ तर यसका लागि थप लगानी आवश्यक पर्छ ।’

प्राधिकरणले गैर प्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाइ गर्ने, मिटर वाईपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको स्टक युनिट ग्राहकको पहिचान गर्ने लगायतका काम अभियानकै रुपमा चलाइ रहेको छ ।

मिटर लिन प्रोत्साहित गर्न सुकुम्बासीलाई पनि मीटर सहज रुपमा दिने, स्थानीय तहको सिफारिस विनानै मिटर जडान गर्ने, अति विपन्नहरुलाई निशुल्क मिटर वितरण गरिरहेको छ ।

samajikkhabar.com