samajikkhabar.com

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादित स्याउ पाक्न थालेपछि बजार पठाउने तयारी सुरु भएको छ । पाँचवटा गाउँपालिका रहेको मुस्ताङको विभिन्न स्थानमा लगाइएको स्याउ पाकेको हुँदा कृषकहरु स्याउ टिप्ने र बजार पठाउने तयारीमा लागेका छन् ।

विगतका वर्षहरुमा जिल्लाभन्दा बाहिरबाट कामदार लगेर स्याउ टिप्ने गरिएको भए पनि यसपटक भने स्याउ टिप्नका लागि मुस्ताङका स्थानीय नै चाहिने भएका छन् । विश्वभर फैलिएको कोभिड–१९ को संक्रमणको जोखिमका कारण स्याउको बगैचा खरिद गर्ने ठेकेदारलाई स्याउ टिप्ने कामदार ल्याउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

स्याउ पाकिसकेको र टिप्ने क्रम सुरु भएको हुँदा टिप्नेदेखि लिएर अन्य व्यवस्थापनको काममा स्थानीय नै खट्नुपर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मुस्ताङको बैठकले स्याउ र तरकारी खरिद बिक्रीको व्यवस्थापनमा स्थानीयलाई नै खटाउनुपर्ने निर्णय गरेको छ । 

बैठकले स्याउ टिप्नका लागि कामदारहरु जिल्ला बाहिरबाट ल्याउन नपाउने निर्णय गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताउनुभयो । उहाँले स्याउको बगैंचा हेर्न र ठेक्का लिन एकजना मात्रै ठेकदार आउन पाउने हुँदा कोभिड–१९ को सबै सुरक्षा मापदण्ड पालना गर्नुपर्ने जानकारी दिनुभयो ।

मुस्ताङमा उत्पादित स्याउ स्वदेशी र विदेशी बजारमा खुब रुचाउने गरिन्छ । अहिले त्यही मुस्ताङको स्याउ बजार जानका लागि तयारी अवस्थामा पुगेको छ । विगतका वर्षहरुमा तीज पर्वदेखि नै बजारमा पुग्ने मुस्ताङको स्याउ यसवर्ष भने बेनी–जोमसोम सडक अवरुद्ध हुनु, कोरोनाको जोखिमका कारण चहलपहल नहुनु, दशैं तिहारलगायत चाडपर्व ढिलो परेका कारण स्याउ बजारीकरणमा ढिलाइ भएको हो ।

यसवर्ष हिउँदको समयमा अत्यधिक हिउँ पर्नु र वर्षात्मा वर्षा भैरहेका कारण चिसो बढी भएर स्याउमा ढुसी लागेको हुँदा उत्पादनमा कमी आएको भए पनि यसपटक गुणस्तरीय स्याउ बजार जाने कृषकहरुले दावी गरेका छन् ।
मुस्ताङको स्याउ यसवर्ष बोटमै होलसेल प्रतिकिलाे १ सय रुपैयाँ मूल्य पर्ने घरपझोङ गाउँपालिका–२, मार्फाका कृषक दिपक लालचनले बताउनुभयो ।

यसवर्ष उत्पादनमा कमी आए पनि गुणस्तरीय स्याउ फलेका कारण गतवर्ष भन्दा केही महङ्गो पर्ने बताउँदै उहाँले ‘ए’ ग्रेडको स्याउलाई यसवर्ष प्रति कार्टुन २२ सय रुपैयाँ मूल्य तोकिएको जानकारी दिनुभयो । गएको वर्ष ५ हजार ५ सय २८ मेट्रिक टन स्याउ निर्यात भएकोमा यसवर्ष उत्पादन केही कम भए पनि राम्रोसँग पाक्न पाएकोले मूल्य भने धेरै पर्ने जनाइएको छ ।

अहिले मुस्ताङको स्याउ खरिद गर्न विभिन्न जिल्लाबाट व्यापारीहरु मुस्ताङ आएर क्वरेण्टीनमा बसेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुस्ताङका नायव प्राविधिक सहायक यमुना लामाले बताउनुभयो । उहाँले यसवर्ष कुल १२ सय हेक्टर जमिनमा स्याउ लगाइएकोमा झण्डै ५ सय हेक्टरको स्याउले उत्पादन दिने जानकारी दिनुभयो ।  

मुस्ताङमा गएको वर्ष १ हजार २ सय हेक्टर जमिनमा स्याउ लगाइएकोमा घरपझोङ गाउँपालिकामा २ हजार ६ सय ९४, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा १ हजार ३ सय ७०, थासाङ गाउँपालिकामा १ हजार ३ सय ६०, लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा १०० र लोमान्थाङ गाउँपालिकामा ३ मेट्रिक टन स्याउ उत्पादन भएको परियोजना कार्यान्वयन इकाइले जनाएको छ । 

यसवर्ष कोभिड–१९ को कारणले गर्दा यातायात नचलेको अवस्था र गएको साउन ५ गतेदेखि अवरुद्ध बेनी–जोमसोम–कोरला सडक खुल्न ढिलाइले गर्दा स्याउ ढुवानीमा समस्या भएको थियो । अब मुस्ताङको स्याउ बजारमा लैजाने तयारी अवस्थामा कृषकहरु रहेका छन् ।

मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौं, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली र अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको छ । मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, स्याङ, कागबेनी, ताङ्बे, छुसाङ र मुक्तिनाथ क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ ।

जलवायु परिवर्तनका कारण पछिल्लो केही वर्षयता उपल्लो मुस्ताङको लोमान्थाङ, चराङ, घमी लगायतका क्षेत्रमा समेत स्याउ उत्पादन हुने गरेको छ । यीमध्ये मार्फा र टुकुचेमा सबैभन्दा धेरै स्याउ फल्ने गरेको कृषि प्राविधिकहरु बताउँछन् । मार्फालाई स्याउ उत्पादनको राजधानी समेत भनिन्छ ।

समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउखेती हुने गरेको छ भने राम्रो व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट मात्रै ३ क्वीन्टलसम्म स्याउ उत्पादन गर्न सकिन्छ । कृषकहरुले स्याउबाट जुस, ब्राण्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाईडर जस्ता परिकारहरु बनाउँछन् ।  मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । 

samajikkhabar.com