samajikkhabar.com
स्याउको राजधानी मुस्ताङमा उत्पादित स्याउ नेपाली बजारमा

स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादित स्याउ नेपाली बजारमा आउन थालेको छ । मुस्ताङ जिल्लाको विभिन्न स्थानमा कृषकहरुले व्यावसायिक रुपमा उत्पादन गरेको स्याउ बजारमा पुगेको हो ।

स्याउ पाकेपछि मुस्ताङका कृषकको बगैँचामा अहिले देशका विभिन्न स्थानबाट व्यापारीहरु खरिद गर्न पुगेका छन् । मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाण्डौ, नारायणगढ, बुटवल र भैरहवासहित विभिन्न बजारमा पुग्ने गरेको छ । कुल १ हजार २ सय ५७ हेक्टर क्षेत्रफलमा स्याउ खेति गरिएकोमा ३ सय ७० हेक्टरमा लगाएको स्याउले उत्पादन दिएको छ ।

पटकपटक परेको हिमपातका कारण विगतको तुलनामा यस वर्ष स्याउ उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, स्याङ, कागबेनी, ताङ्बे, छुसाङ र मुक्तिनाथ क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको ज्ञान केन्द्रका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनका कारण पछिल्लो समय उपल्लो मुस्ताङमा समेत स्याउ फल्न थालेको छ ।

उपल्लो मुस्ताङको चराङ, घमीलगायतका क्षेत्रमा स्याउ उत्पादन हुने गरेको बागवानी विकास अधिकृत थापाको भनाइ छ । यसवर्ष म्याग्दीको बेनीमा तीज पर्वदेखि नै मुस्ताङको स्याउ आएको उहाँले बताउनुभयो ।

नेपाली बजारमा स्याउ सजिलै बिक्री हुने हुँदा व्यापारीहरु कृषकको बगैंचामै पुग्छन् । स्याउ खरिदका लागि बगैंचामा पुग्ने व्यापारीहरुले ठेक्कामा स्याउको बगैंचा नै खरिद गर्ने गरेका छन् । कतिपय व्यापारीहरुले कार्टुन र डोकोमा पनि स्याउ खरिद गरेर बिक्री गर्दै आइरहेका छन् ।

samajikkhabar.com