samajikkhabar.com

साताको पहिलो दिन आइतबार सेयर बजारमा ७५ अंकको पहिरो गएको छ। ७५.७९ अंक घटेसँगै नेप्से परिसूचक २५७२ अंकमा कायम भएको छ। 

यस दिन कारोबार रकम भने केही बढेको छ। कुल ७ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

यस दिन बैंकिङ ४२, ब्यापार ११३, होटल तथा पर्यटन २२०, विकास बैंक ८६, जलविद्युत ११२, फाइनान्स ४३, निर्जीवन बीमा ४४०, उत्पादन १३६, अन्य ४७, माइक्रोफाइनान्स १६०, जीवन बीमा ४६० र लगानी समूह ३ अंकले घटेका छन्। 

महिला लघुवित्त र विशालबजार कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। आजको कारोबारपछि महिला लघुवित्तको मूल्य प्रतिकित्ता २१३६ र बिशाल बजारको ३४८४ रुपैयाँ कायम भएको छ। तीसहित कुल ७ कम्पनीबाहेक सबैको मूल्य यस दिन घटेको छ। 

अघिल्लो दिनसम्म १० प्रतिशतले बढेको ज्योति लाइफ इन्स्योरेन्सको मूल्य आज घटेको छ। कम्पनीको मूल्य आज ३.८ प्रतिशतले घटेर प्रतिकित्ता ८७३ रुपैयाँ कायम भएको छ। 

पछिल्लो पटक खुलेका जीवन बीमा कम्पनीमध्ये ज्योतिको वित्तीय स्थिति बलियो नै छ। कम्पनीको मूल्य १ हजार नाघ्ने चर्चाका वावजुत आजदेखि मूल्य घटेको हो। क

म्पनीको मूल्यले १ हजार नै नछोइकन अर्थात अधिकतम ९९८ रुपैयाँसम्म पुगेर फर्किएको हो। कारोबारका आधारमा सो कम्पनी दोस्रो स्थानमा रह्यो। 

निफ्राको सबैभन्दा धेरै ३९ करोड रुपैयाँ बराबरको कारोबार भयो। कम्पनीको मूल्य भने करिब ४ प्रतिशतले घटेर ५४१ रुपैयाँमा झरेको छ। 

कारोबारका आधारमा तेस्रो स्थानमा रहेको माथिल्लो तामाकोसीको मूल्य ५ प्रतिशतले घटेको छ। २५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा कम्पनीको मूल्य ८१४ रुपैयाँमा झरेको छ। नबिल र एनआइसी एसिया बैंक पनि कारोबारका आधारमा टप फाइभभित्र पर्न सफल भए। 

चन्द्रागिरि हिल्सको मूल्य सबैभन्दा धेरै ८.४३ प्रतिशतले घटेको छ। आजको कारोबारपछि कम्पनीको मूल्य प्रतिकित्ता १९५५ रुपैयाँ कायम भएको छ।

नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.१ प्रतिशतले घटेर ५२७ रुपैयाँमा झरेको छ। त्यस्तै रिडी हाइड्रोपावरको मूल्य ७.६ प्रतिशतले घटेर २०५ रुपैयाँ कायम भएको छ।

कोरोना माहामारी बढेसङै लगडाउन हुनसक्ने र सेयर बजार समेत नराम्ररी प्रबाबित भाई नेप्से निकै तल जान सक्ने अनुमान बिग्यहरुले लगाउन थालेका छन।

samajikkhabar.com