samajikkhabar.com

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले पुस १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार बैंकहरुले निक्षेपको ब्याजदर झन् तल झारेका छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै मुद्दति निक्षेपको माथिल्लो र बचतको न्यूनतम ब्याज बीचको अन्तर ५% भन्दा बढी हुन नहुने नीतिगत घोषणा गरेको थियो । राष्ट्र बैंकले बचतको ब्याज धेरै तल नजाओस् भनेर उक्त नीति लिएको थियो ।

तर, यो नीति कार्यान्वयनका लागि केन्द्रीय बैंकले निर्देशन जारी गर्नु अगावै बैंकहरुले धमाधम मुद्दतिको ब्याजदर घटाउन सुरु गरेका छन् । मुद्दतिको ब्याजदर घटाइएकाले बचतको ब्याज बढ्ने सम्भावना पनि अहिललाई लगभग टरेको छ । यसअघि बचत खाताको ब्याजदर केही बढ्छ कि भन्ने अनुमान गरिएको थियो ।

अहिले अधिकांश बैंकहरुले साधारण बचत खाताको ब्याजदर २% भन्दा तल झारेका छन् । एनआइसी एसिया बैंकले त अझ १.५०% मै झारेको बताएको छ । अधिक तरलताकाबीच राष्ट्र बैंकले बचतको ब्याजदर धेरै घट्न नदिनका लागि ल्याएको नीतिले खासै काम गर्ने देखिएको छैन । निक्षेपको ब्याजदर अझै घट्ने कि भन्ने चिन्ता समेत सुरु भएको छ । 

बैंक ब्याजदर घट्दा सेयर बजारलाई भने प्रत्यक्ष फाइदा पुग्ने भएको छ । ब्याजदर निकै न्यून विन्दुमा आएका बेला सेयर बजार भने क्रमशः माथि जाने गर्छ । विगतका तथ्यांकहरुले पनि यसको पुष्टि गरिसकेको छ ।  

 यसैबीच, बैंकहरुले सार्वजनिक गरेका निक्षेप र कर्जाको नयाँ ब्याजदर हेरौं 

 एनआइसी एसिया बैंक 

पुस १ गतेबाट लागू हुने गरेर एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले केही समय पहिले नै बचतको ब्याजदर १.५०% मा झारेको थियो । त्यसैले अहिले बैंकले मुद्दति निक्षेपको ब्याज दर घटाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ६.५०% सम्म ब्याज पाइनेछ । बैंकको कात्तिक मसान्तसम्मको आधार दर ६.५०% छ ।  

नेपाल इन्भेष्टमेन्ट बैंक

 नेपाल इन्भेष्टमेन्ट बैंकले बचत खाताको न्यूनतम ब्याजदर २.२५% र अधिकतम  ४.२५% निर्धारण गरेको छ । यता, व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याज दर ९% राखेको छ । ९% ब्याज ५ वर्षभन्दा माथिका निक्षेपकर्तालाई मात्र हो । बैंकले एक वर्षे मुद्दतिको ब्याजदर ७.७५% निर्धारण गरेको छ ।

त्यस्तै, ३ महिनाको मुद्दतिमा ५% र ६ महिनादेखि १ वर्षको लागि ६.७५% रहेको छ । यसको असोज मसान्तसम्मको बेस रेट ७.३४% छ । यसैमा २% देखि ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने जनाएको छ ।

  नेपाल एसबीआई बैंक


 नेपाल एसबीआई बैंकले बचतको ब्याज १% देखि ३% तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ६% र न्यूनतम ४% निर्धारण गरेको छ । यता, बैंकको कात्तिक मसान्तसम्मको बेस रेट ८.३७% छ । यसमा न्यूनतम १.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ । 

 नबिल बैंक 

नबिल बैंकले बचतमा न्यूनतम १.५०% देखि अधिकतम ३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ८% दिने भनेको छ । एक वर्षे मुद्दतिको ब्याज ७.५०% मात्र छ । यता, बैंकको कात्तिक मसान्तसम्म बेस रेट ६.३७% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९% देखि ११.५०% सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।

 सेञ्चुरी कमर्सियल बैंक

 सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज २.५०% र अधिकतम ४.५०% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८% कायम गरेको छ । ८% ब्याज ३ वर्षदेखि माथिको मुद्दति निक्षेपका लागि हो । एक वर्षे मुद्दतिको ब्याज साढे ७.५०% छ ।

यता, बैंकको कात्तिक मसान्तसम्मको आधार दर ८.४३% रहेको छ । यसमा ३% देखि ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । यता, घर कर्जाको लागि ११.४९% देखि १२.९९% स्थिर ब्याज दर निर्धारण गरेको जनाएको छ ।  

स्टान्डर्ड चार्टर्ड बैंक 

स्टान्डर्ड चार्टर्ड बैंक नेपालले बचतको न्यूनतम ब्याजदर २.५०% निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ६% रहेको छ । 

एनएमबि बैंक 

एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर ३% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८% र न्यूनतम ५.७५% निर्धारण गरेको छ । असोज मसान्तसम्मको अधारदर ७.८५% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५% देखि अधिकतम १२.२४% सम्म ब्याजदर निर्धारण गरेको छ ।

 राष्ट्रिय वाणिज्य बैंक 

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बचतको न्यूनतम ब्याजदर २% र अधिकतम ४% निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ७.२५% निर्धारण गरेको छ । यो ब्याजदर निश्चित क्षेत्रकाले मात्र पाउँछन् । आम सर्वसाधारणका लागि मुद्दतिमा अधिकतम ब्याजदर ७% छ ।

असोज मसान्तसम्म बैंकको आधार दर ५.७४% छ । यसमा अधिकतम ३.२५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिने जनाएको छ । बैंकले न्यूनतम ८.५०% देखि अधिकतम ११% सम्म ब्याजदरमा स्थिर कर्जा दिन्छ । 

 नेपाल बैंक

 नेपाल बैंकले बचतको न्यूनतम ब्याज २% देखि अधिकतम ४% सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% तोकेको छ । असोज मसान्तसम्म बैंकको आधार दर ६.८१% छ । यसमा १% देखि ४.६६% सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । यता, स्थिर ब्याजको न्यूनतम ब्याजदर ९.३५% देखि १३.३५% सम्म छ । 

 कृषि विकास बैंक 

कृषि विकास बैंकले बचतको ब्याज ३% निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.२५% कायम गरेको छ ।

एभरेष्ट बैंक

 एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% तोकेको छ । कात्तिक मसान्तसम्म बैंकको आधार दर ६.७३% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।  

माछापुच्छ्रे बैंक 

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २.५०% देखि ४.५०% सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.५०% निर्धारण गरेको छ । एक वर्षे मुद्दतिको ब्याज भने ८.२५% छ ।

 मेगा बैंक

 मेगा बैंकले बचतको न्यूनतम २.५०% देखि अधिकतम ४.५०% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ७.५०% निर्धारण गरेको छ । यो एक वर्षभन्दा धेरै मुद्दति निक्षेपको लागि हो । कात्तिक मसान्तसम्म बैंकको आधार दर ७.८०% छ । यसमा न्यूनतम २% देखि अधिकतम ५% सम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्ने मेगाको भनाई छ ।  

कुमारी बैंक

 कुमारी बैंकले बचत खातामा न्यूनतम १.७५% देखि अधिकतम ४.५०% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.५०% देखि ७.५०% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको कात्तिक महिनामा आधार दर ८.३०% छ ।  

सानिमा बैंक 

सानिमा बैंकले बचतको ब्याज न्यूनतम २.५०% निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको १०% निर्धारण गरेको छ । यो ५ वर्षे मुद्दतिको ब्याज हो । एक वर्षे मुद्दतिको ब्याज ७% छ ।

 सिद्धार्थ बैंक

 सिद्धार्थ बैंकले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६% देखि अधिकतम ७.५०% सम्म ब्याजदर दिने भएको छ ।

यता, यसको कात्तिक महिनामा आधार दर ७.९८% छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा न्यूनतम ३.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गर्ने जनाएको छ । 

 ग्लोबल आइएमई बैंक 

ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २% ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ८.५०% ब्याज निर्धारण गरेको छ । यो ८.५०% ब्याज २ वर्षमाथिको मुद्दतिका लागि हो । एक वर्षेको ब्याजदर ७% छ । 

सनराइज बैंक 

सनराइज बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ३.५०% सम्म ब्याज दिने भएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७% ब्याज निर्धारण गरेको छ । कात्तिक मसान्तसम्मको बैंकको आधार दर ७.५१% रहेको छ । बैंकबाट कर्जा लिनेले अधिकतम १३.५१% सम्म ब्याज तिर्नुपर्ने छ । 

 बैंक अफ काठमान्डू 

बैंक अफ काठमान्डूले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचततर्फ न्यूनतम २% देखि अधिकतम ३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा ५% देखि ७% ब्याजदर तोकेको छ । 

 प्रभु बैंक

प्रभु बैंकले बचतको न्यूनतम ब्याजदर २% निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ७.५०% ब्याजदर निर्धारण गरेको छ । 

एनएमबि बैंक
 एनएमबि बैंकले बचत खातामा न्यूनतम ३% देखि अधिकतम ५% सम्म ब्याजदर तोकेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.७५% देखि ८% सम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले आधार दरमा न्यूनतम २% देखि अधिकतम ५% सम्म ब्याजदर तोकेको छ । बैंकको कात्तिक महिनासम्मको आधार दर ७.२६% छ । 

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक
 नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले बचतको न्यूनतम ब्याजदर ३% निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ८% तोकेको छ ।

 लक्ष्मी बैंक
 लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ६.५% देखि ५ वर्षभन्दा बढीको हकमा ८.५% ब्याज दिनेछ । बैंकको असोजसम्मको आधार दर ८.९% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले लोन दिन्छ । 

(स्रोत : बैंकहरुले सार्वजनिक गरेका सूचना तथा विज्ञापनहरु) 

samajikkhabar.com